आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : अध्यक्ष दाहाल
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताउनुभएको छ । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई राजधानीमा शनिबार सम्बोधन गर्दै उहाँले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बताउनुभयो ।
“पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्”, उहाँले भन्नुभयो, “आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् ।”
कम्युनिष्ट पार्टीकै नेतृत्वमा बनेको संविधान र त्यसको मर्ममाथि कम्युनिस्ट पार्टीकै अध्यक्ष एवं प्रधानमन्त्रीबाट निर्मम प्रहार हुनु नै सबैभन्दा दुःखद् रहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर प्रधानमन्त्री लागेको आरोप लगाउनुभयो ।
सोही अवसरमा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भए पनि पूरै लडाइँ जित्न बाँकी रहेको बताउनुभयो । उहाँले गलत प्रवृत्तिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्