संक्रमण ‘चेन ब्रेक’ गर्न उपत्यका आवागमनमा कडाइ
काठमाडौं– कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकाको अवागमनमा कडाइ गरिने भएको छ । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सुरक्षा निकाय प्रमुखहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना संक्रमण दर रोक्न राजधानी उपत्यकाका तीन जिल्लामा कम्तिमा एक साता क्षेत्र विशेष तोकी प्रतिबन्धात्मक व्यवस्था गरिएको हो । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरुको संयुक्त बैठकले सक्रमण बढ्न नदिन थप कडाइ गर्दै लैजानु पर्ने निश्कर्ष निकालेको हो । आगामी एक दुई दिन भित्रदेखि नै लागू हुने गरी पूर्ववत् ब्यवस्थामा कडाइ गर्न स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
स्थानीय प्रशासन ऐन र संक्रमण रोग ऐनले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिल्लाभर वा निश्चित क्षेत्रमा तोकि निषेधाज्ञा जारी गर्ने अधिकार दिएको छ । निशेधाज्ञाको आदेश जारी गर्ने निर्णय गर्दा सर्वसाधारणलाई घर फर्कन र आवश्यक तयारीका लागि समय दिइने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनु भयो ।
पछिल्ला परीक्षणहरुमा काठमाडौं उपत्यकामा मात्र कुल संक्रमितहरुको संख्या एकतिहाइको हाराहारीमा छ । गम्भीर विरामीको चाप अस्पतालमा बढ्दै गएकोले तत्काल बन्दाबन्दी गर्नुपर्ने सिफारिस स्वास्थ्य मन्त्रालयले यसअघि नै कोभिड १९ संकट व्यस्थापन केन्द्र सीसीएमसीलाई गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्