डोल्पाको धोमा सिकिस्त चार बिरामी कर्मचारीको उद्धार हुन सकेन
डोल्पा-डोल्पाको उत्तरी क्षेत्र अन्तर्गत डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोमा सिकिस्त बिरामी परेका चारजना कर्मचारीको अझै उद्धार हुन सकेको छैन् ।
तीन दिनदेखि बिरामीले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक, प्राविधिक खेमराज सिंह,प्राविधिक माधन पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायको उद्धार हुन नसकेको हो ।
बिरामीहरु आफै हिँडेर दुनैपुग्ने अवस्था नभएकाले हेलिकप्टरबाट उद्धारकालागि मंगलबारदेखि पहल गरिएपनि मौसममा आएको खराबीले काठमाण्डौबाट हेलिकप्टर आउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो ।
कार्यालयको कामको सिलसिलामा बैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामी कर्मचारीहरु रुखाखोकी,ज्वरो आउने,शरिर दुख्ने र सासफेर्ने गाह्रोहुने समस्याले सिकिस्त भएको पंज्ञानीले बताउनुभयो ।
गाउँपालिकाकै खर्चमा हेलिकप्टर झिकाउन निरन्तर लागिरहेपनि मौसमले साथ नदिएकाले मान्छे र घोडामा बोकाएरु जतिसक्दो तल झार्ने कि भन्ने सल्लाह पनि भइरहेको पंज्ञानीको भनाइ छ ।
यी मध्ये स्वास्थ्य संयोजक विकको स्वाथ्य अवस्था अन्य तीनको तुलनामा थप जटिल रहेको सँगै रहनुभएका अर्का प्राविधिक कृष्णरुप बुढाले जानकारी दिनुभयो ।
बिरामीहरुमा कोभिड जस्तो लक्षण देखिएपनि उपल्लो डोल्पामा परीक्षण गर्ने कुनै माध्यम नभएकाले एकिन गर्न नसिकएको प्राविधिक बुढाको भनाइ छ ।
हिजोदेखिनै मौसम बिग्रेर काठमाण्डौ,पोखराहुँदै उपल्लो डोल्पा पुग्ने हवाई रुटहरु नखुलेकाले काठमाण्डौबाट हेलिकप्टर उड्न नसकेको बरिष्ठ पर्यटन व्यवसायी जितेन्द्र झाँक्रिले जानकारी दिनुभएको छ ।
धोबाट दुनै पुग्न मात्रै तीन दिन लाग्छ ।।






प्रतिक्रिया राख्नुहोस्