लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र), नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनले आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन । यस्तो प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेको बिपक्षी गठबन्धनले जनाएको छ ।
प्रस्तावमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएका उनीहरुले जनाएका छन् ।
प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदन समेत गरिएको छ ।
यसअघि बैशाख ६ मा पनि गठबन्दनका ४१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वास प्रस्ताव सहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए ।
त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले बैशाख १९ मा विशेष अधिवेशन बोलाउनु भएको थियो । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।
विशेष अधिवेशन अन्त्य भएलगत्तै मुख्यमन्त्री पोखरेल सोही दिन पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
लुम्बिनी प्रदेशमा २ जना प्रदेश सभा सदस्यको राजिनामा र एक जनाले पार्टी परिवर्तनपछि हाल एमाले ३८ सभासद छन् ।।
प्रतिक्रिया राख्नुहोस्