ओली–नेपाल भेट गराउने गृहकार्यमा कार्यदल

काठमाडौं– नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट गराउने गृहकार्य गरेको छ ।

विवाद समाधानको करिव करिव टुंगोमा पुगेको कार्यदलले दुई शीर्ष नेताबीच भेट गराएरै सहमतिलाई अन्तिम रुप दिने तयारी गरेको हो । कार्यदलमा संस्थापनतर्फका संयोजक सुवासचन्द्र नेम्वाङले अध्यक्ष ओली र नेता नेपाललाई भेट गराउने तयारी भएको जानकारी दिनुभयो । ‘दुवै शीर्ष नेताहरुसहितको बैठक गर्ने कोसिस भइरहेको छ,’ नेम्वाङले नेपालटीभीअनलाइनसँग भन्नुभयो ।

अनौपचारिक स्रोतका अनुसार सम्भव भए आजै नभए भोलिसम्म दुवै नेताबीच भेटको गृहकार्य भइरहेको छ । ‘हो, हामी भेटका लागि प्रयासरत छौं,’ नेम्वाङले भन्नुभयो ।

कार्यदलमा नेपाल समूहका सदस्य गोकर्ण विष्टले सबै विषयमा करिव करिव ठोस सहमति भएको दाबी गर्नुभएको छ । ‘हामी झण्डै(झण्डै निष्कर्षमा पुगेका छौं,’ उहाँको भनाइ छ ।

कार्यदल तहमा सहमति भए पनि व्यक्तिगतरुपमा अध्यक्ष ओली र नेता नेपालको तिक्तता मेटाउने प्रयासमा नेताहरु लागेका छन् ।

एमाले विवाद साँघुरिँदै जाँदा विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षमा माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर गरेपछि पुनः जटिलता थपिएको थियो । तर, तीन दिनअघिमात्रै कार्यदल ब्यूँतिएपछि सघन छलफल भएका छन् । लगातार तीन दिन कार्यदलले गृहकार्य गरेको छ ।

बुधबार बिहानमात्रै पनि सिंहदरवारमा कार्यदलको बैठक बसेको थियो । बैठकअघि असन्तुष्ट पक्षबाट कार्यदलको नेतृत्व गर्नुभएका उपाध्यक्ष भीम रावलले नेता नेपालसँग कोटेश्वरमै गएर भेट गर्नुभएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट संयोजकमा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य विष्णु रिमाल हुनुहुन्छ ।

नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल संयोजक र सदस्यहरुमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।

एमाले ब्यूँतिएपछि थप जटिलतातर्फ गएको विवाद मिलाउन अध्यक्ष ओली र नेता नेपालबीच यसअघि होटल मेरियट, चपली हाइटस्थित क्याम्पटेन रामेश्वर थापा निवास र सिंहदरवारमा भेट भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.