पुनर्स्थापित संसद अधिवेशन सुरु, शोक प्रस्ताव पारित, अध्यादेश पेश

काठमाडौं– सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित सङ्घीय संसद्को अधिवेशन आजबाट सुरु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुलाई स्वागत गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधि सभा पुनर्स्थापित भएकोमा खुसी व्यक्त गर्नुभयो । ‘सभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नो तर्फबाट योगदान पु–याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ सभामुखको भनाइ थियो ।

पहिलो दिनको बैठकमा विभिन्न अध्यादेशहरु सभासमक्ष टेबुल गरिएको छ ।

शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद विदुर पौडले, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा र योगनारायण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

पारित प्रस्तावमा संविधानसभा सदस्य मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का रबनी चौधरी, तप्तबहादुर विष्ट र पशुपति चौलागार्इंको निधनप्रति दुःख व्यक्त गर्दै मौनधारणसहित श्रद्धाञ्जलि प्रकट गरिएको छ । सभाले शोकसन्तप्त परिवारजनप्रति अलगअलग शोक प्रस्ताव पारित गरी समवेदना व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगन गरिएको छ ।

अध्यादेश पेश
प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गर्नुभएको हो ।

बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरिएको छ ।

यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्की बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रतिनिधिसभामा पेश गर्नुभयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश सभासमक्ष पेश गर्नुभयो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश खारेज गर्नुभएको जानकारी गराउनुभयो ।

सभामुख सापकोटाले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफूलाई प्रधानमन्त्री पदमा विश्वास छ भन्ने सूचनालाई आजै बस्ने अर्काे बैठकमा प्रस्तुत गरिने जानकारी पनि गराउनुभयो । सदनको आजको गतिविधि नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालले प्रत्यक्ष प्रसारण गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.