चलचित्र क्षेत्रलाई चलायमान बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
कोरोना प्रभावित चलचित्र क्षेत्रका लागि सरकारले सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– कोरोनाका कारण ठप्प चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग पुर्याउन कलाकारहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेका छन् ।
नेपाल सांस्कृतिक संघद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संघका प्रतिनिधिहरुले कोभिड १९ का कारण प्रभावित कला क्षेत्र र कलाकारहरुका निम्ति विशेष राहत कार्यक्रम ल्याउन आग्रह गरेका हुन । लामो समयको निषेधाज्ञाका कारण चलचित्र क्षेत्र धराशायी बनेको, सिनेमा हल लामो समयदेखि बन्द भएको, कलाकारहरु कामविहीन बनेको वर्तमान अवस्थामा चलचित्र क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन सरकारले सहयोग गरिदिनुपर्ने कलाकारहरुको माग छ ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले देशका गहनाका रुपमा रहेका कलाकारका लागि सरकारले चाँडै खोपको व्यवस्था गर्ने उल्लेख गर्नुभयो । कोरोना प्रभावित चलचित्र क्षेत्रका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा संघका अध्यक्ष तीर्थ थापा लगायत विभिन्न कलाकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्