प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्न सरकारको सिफारिस

काठमाडौं- सरकारले नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै हुनुहुन्छ ।

मन्त्रिपरिषद् बैठकले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । सरकारले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो । अघिल्लो सरकारले उहाँलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका शेरचनलाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।
यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुनुहुन्थ्यो ।

बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषदबाट भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.