पहिरोले पासाङल्हामु मार्ग अवरुद्ध
नुवाकोट- अविरल रुपमा परेको पानीसँगै आएको वाढीपहिराले नुवाकोटमा पासाङल्हामु मार्ग अवरुद्ध भएको छ । पहिराले छहरे–टोखा सडकमार्गसमेत वन्द भएको छ ।
भारी बर्षासँगै आएको वाढीले सदरमुकाम विदुरमै मुल सडकमार्ग भासिनुका साथै सडक बगाउँदा यातायात ठप्प भएको छ । पासाङल्हामु मार्ग अन्तर्गत त्रिशुली–वट्टार सडकमार्गको वीचमा रहेको नेपाली सेनाको व्यारेक नजिकै वाढीले सडकमार्ग वगाउनुका साथै पहिरो गएको हो ।
वाढीले सडक वगाउनुका साथै पहिरो जांदा पासाङल्हामु मार्गको सो सडकखण्ड ठप्प भएपछि सम्वन्धित कार्यालयलाई मर्मतको कार्य सुरु गर्न निर्देशन दिइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो।
पहिराले कज वे पनि वगाएको छ भने सो स्थानमा आवतजावत पुर्ण रुपमा ठप्प भएको छ । मुल सडक भासिएसँगै यात्रुवाहक तथा मालवाहक गाडीहरु पुर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यातायात ठप्प भएसँगै रसुवागढी नाकाबाट नुवाकोट हुंदै काठमाडौ हिँडेका मालवाहक सवारी साधनको लाइन लागेको छ ।
सो स्थानमा १० वर्ष अगाडि नै पक्कि मोटरवेल पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको भए पनि सडक मर्मत गरिदा तीन दशक पुरानो अस्थायी कज वेलाई नै मर्मत गरेर छाडेका कारण वाढीले सडक वगाउनुकाम साथै सडक नै भासिएको स्थानीयवासी नारायणकुमार घलेले वताए ।
अविरल वर्षासँगै खसेको पहिराले विदुरदेखि ४५ किलोमिटर दुरीमा रहेको शिवपुरी गाउंपालिकाको गुरुङगाउँमा पनि सडक अवरुद्ध भएको छ । दुवै सडकमार्गमा खसेको पहिरो पन्छाउने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्