प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौं : एमाले उपमहासचिव

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताउनुभयो । न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले आफ्नो पार्टी सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको समेत उल्लेख गर्नुभयो । परमादेशबाट सरकार हटाउने, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् विस्तार गर्नसमेत अदालतले रोकेको स्मरण गर्नुभयो ।
ज्ञवालीले आगामी मंसिर २८ बाट सुरु हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायमै रहनेसमेमत जानकारी दिनुभयो । पार्टीले कारबाही गरेका सांसद संसद भवनमा रहेसम्म संसद् नचल्ने उहाँको भनाइ छ ।
ज्ञवालीले एमाले महाधिवेशनबाट नेतृत्वमा आउन नसक्नुभएका नेताहरुलाई समेत समेटेर अघि बढ्ने जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्