पुस्तक समीक्षा : समाजभाषिक सर्वेक्षणका दुई दस्तावेज

जर्मनीको मुन्चिनस्थित लिम्कम जिएमबिएच (Lincom GmbH) नामक प्रकाशन गृहले हालसालै अङ्ग्रेजी भाषामा A Sociolinguistic Survey of the Languages of Nepal: A Synopsis (नेपालका भाषाहरूको सर्वेक्षणको सारांश) लाई दुई खण्डमा प्रकाशित गरेको छ । पहिलो खण्डमा भोट-बर्मेली र दोस्रो खण्डमा भारतीय आर्य, ड्रभिड र आग्नेसाली भाषा परिवारका भाषाहरूका सर्वेक्षणका प्रतिवेदनहरूका सांराशलाई समेटिएको छ। यी सांराशको लेखन र सम्पादन प्रा. डा. दानराज रेग्मीले गर्नु भएको हो। यी दुवै खण्डका भूमिकाचाहीँ नेपालका भाषाहरूको अध्ययन अनुसन्धानमा पचास वर्षभन्दा बढी योगदान दिनु भएका विश्वप्रसिद्ध भाषाविज्ञ डा.अष्टिन हेलले लेखिदिनु भएको छ।

यी दुवै खण्डका सुरूमा समाजभाषावैज्ञानिक सर्वेक्षणका बारेमा संक्षिप्त चर्चा गरिएको पाइन्छ। दुवै खण्डका अन्त्यमा सर्वेक्षण भएका भाषाका प्रकारात्मक विश्लेषण दिदैँ भाषिक जीवन्तताको चर्चा गरिएको छ। र जीवन्तताको स्तरको आधारमा ती भाषाहरूको दिगो भाषा प्रयोगका लागि सम्बन्धित पक्षले तय गर्नु पर्ने विभिन्न रणनीतिका बारेमा चर्चा गरिएको छ। भाषाको अवस्थितिलाई नक्सामा र तथ्याङ्कलाई तालिकामा प्रस्तुत गरिएका छन्। किताबका अन्ततिर सर्वेक्षणमा प्रयोग भएका साधन (tools) लाई दिइएको छ। यसबाहेक सर्वेक्षणमा विभिन्न भाषामा संलग्न अनुसन्धाता, क्लष्टर प्रमुख र पूर्ण प्रतिवेदन लेखकको विवरण दिइएको छ।

पहिलो खण्डमा भोट-बर्मेली भाषा परिवार भित्रका ४७ ओटा भाषाहरूका सर्वेक्षणका प्रमुख उपलब्धीको सारांश दिइएको छ। सारांशमा भाषा प्रयोगको ढाँचा, द्विभाषिकता, बहुभाषिकता, मातृभाषा प्रयोग दक्षता, भाषिक जीवन्तता, भाषिक संवर्धन, भाषिक अभिवृत्ति, भाषिक स्रोत, भाषा विकास र भाषिकागत भिन्नता जस्ता कुराहरू परेका छन्। परिच्छेदलाई भाषा परिवारभित्रका शाखा/उपशाखाको आधारमा विभाजन गरिएको छ। सारांशमा शाखा/उपशाखागत रूपमा देखिने समान र भाषा विशेषका विशेषताहरूलाई तुलनात्मक रूपमा देखाउने प्रयास गरिएको छ।

नेपालमा अझै पनि केन्द्रीय बोडिस, पश्चिमी बोडिस, पश्चिमी हिमाली, साल (SAL) र केन्द्रीय भोट-बर्मेली भाषाहरू सबल छन्। सबै उमेर समूहका मानिसहरूले बोल्दछन्। भाषा प्रयोगका लगभग सबै क्षेत्रमा प्रयोग हुन्छन्।तर केन्द्रीय हिमाली र किराँती भाषाहरू भने अति नै लोपोन्मुख अवस्थामा पुगेका छन्। बुढा उमेर समूहका बाहेकले यी भाषाहरू मुस्किललै प्रयोग गरेको पाइन्छ।यी भाषाहरूलाई नेपाली र मिश्रित भाषा (नेपाली र मातृभाषा) प्रयोगले प्रतिस्थापन गरिरहेका छन्। अझ प्रष्टरूपमा भन्ने हो भने भोट-बर्मेली भाषा बोल्ने मानिसहरू नेपाली भाषा पनि लगभग उत्तिकै राम्ररी बोलेको पाइन्छ। यी भाषाहरूमा केही भौगोलिक भिन्नता पनि पाइन्छन्। रेकर्ड गरिएका पाठको सहयोग (Recorded Text Test) ले बोधगम्यता को परीक्षण गर्नु पर्ने हुन्छ। अधिकांश भाषामा लेखन पद्दतिको विकास भएको छैन। अझै पनि अधिकांश वक्ताहरूले आफ्नो भाषाप्रति सकरात्मक अभिवृत्ति देखाएको पाइन्छ। तैपनि धेरैजसो भाषाहरू दिन प्रतिदिन कमजोर हुँदै गएका छन्। त्यसैले भाषा विशेषका जीवन्तताको तह अनुसार समुदायमा आधारित कार्यक्रमहरू सञ्चालन गरेर यी भाषाहरूलाई जोगाउनु आवश्यक छ भन्ने कुरा पहिलो खण्डमा लेखक तथा सम्पादकले जनाउनु भएको पाइन्छ।

नेपालमा अझै पनि केन्द्रीय बोडिस, पश्चिमी बोडिस, पश्चिमी हिमाली, साल (SAL) र केन्द्रीय भोट-बर्मेली भाषाहरू सबल छन्। सबै उमेर समूहका मानिसहरूले बोल्दछन्। भाषा प्रयोगका लगभग सबै क्षेत्रमा प्रयोग हुन्छन्।तर केन्द्रीय हिमाली र किराँती भाषाहरू भने अति नै लोपोन्मुख अवस्थामा पुगेका छन्।

दोस्रो खण्डमा भारतीय आर्यन, ड्रभिड र आग्नेसाली गरी २८ ओटा प्रतिवेदनका सांराश रहेका छन्। दोस्रो खण्डमा भाषा प्रयोगको ढाँचा, द्विभाषिकता, बहुभाषिकता, मातृभाषा प्रयोग दक्षता, भाषिक जीवन्तता, भाषिक सम्वर्द्धन, भाषिक अभिवृत्ति, भाषिक स्रोत, भाषा विकास र भाषिकागत भिन्नता जस्ता कुरामा पाइएका उपलब्धीहरूलाई सारांशका रूपमा प्रस्तुत गरिएको छ। यस खण्डमा पनि परिच्छेदलाई भाषा परिवारभित्रको शाखा/उपशाखाको आधारमा विभाजन गरिएको छ। पहिलो खण्डमा जस्तै सारांशमा शाखा/उपशाखागत रूपमा देखिने समान र भाषा विशेषका विशेषताहरूलाई तुलनात्मक रूपमा देखाउने प्रयास गरिएको छ। भारतीय आर्य, ड्रभिड र आग्नेशाली भाषा बोल्नेहरूले नेपालको सरकारी कामकाजको भाषाको रूपमा प्रयोग हुने नेपाली भाषा राम्रोसँग बोल्दछन्।यस्ता करिब एक तिहाइ भाषाहरूमा भौगोलिक भिन्नता पाइन्छ।भोट-बर्मेली भाषामा जस्तै बोधगम्यताको परीक्षण गर्नु पर्ने आवश्यकता रहेको छ।करिब एक तिहाइ भन्दा बढी भारतीय आर्य भाषाहरूले दिगो साक्षरता (Sustainable Literacy) कायम गरेको पाइन्छ। पूर्वी, केन्द्रीय र उत्तरी शाखामा पर्ने भारतीय आर्य भाषाहरू सबल छन्। यी भाषाहरू भाषा प्रयोगका सबै क्षेत्रमा प्रयोग हुन्छन्। तर करिब एक तिहाइ पूर्व केन्द्रीय भारतीय आर्य भाषाहरू लोपोन्मुख हुँदैछन्। यस्तै अवस्था द्रविड र आग्नेशाली भाषाहरूको पनि छ। यी भाषाहरू बोल्नेले नेपाली भाषा वा मिश्रित भाषा (मातृभाषा र नेपाली) प्रयोग गरिरहेको पाइन्छ। यी भाषाहरूको उत्थानका लागि पनि समुदायमा आधारित कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने सुझाव प्रा. रेग्मीले दिनु भएको छ।

दुबै खण्डका सुरूमा समाजभाषावैज्ञानिक सर्वेक्षणका बारेमा संक्षिप्त चर्चा गरिएको पाइन्छ। दुबै खण्डका अन्त्यमा सर्वेक्षण भएका भाषाका प्रकारात्मक विश्लेषण दिँदै भाषिक जीवन्तताको चर्चा गरिएको छ। र जीवन्तताको स्तरको आधारमा ती भाषाहरूको दिगो भाषा प्रयोगका लागि सम्बन्धित पक्षले तय गर्नु पर्ने विभिन्न रणनीतिका बारेमा चर्चा गरिएको छ। भाषाको अवस्थितिलाई नक्सामा र तथ्याङ्कलाई तालिकामा प्रस्तुत गरिएका छन्। किताबका अन्ततिर सर्वेक्षणमा प्रयोग भएका साधनलाई दिइएको छ। यसबाहेक सर्वेक्षणमा विभिन्न भाषाहरूका अनुसन्धाता, क्लष्टर प्रमुख र पूर्ण प्रतिवेदन लेखकको विवरण दिइएको छ।

नेपालमा २०६५ साल चैत्र देखि २०७४ साल माघसम्म भाषा विज्ञान केन्द्रीय विभागले नेपाल सरकार, राष्ट्रिय योजना आयोगको स्वीकृतिमा नेपालको भाषिक सर्वेक्षण नामक परियोजना अन्तर्गत करिब ९६ ओटा भाषाको समाजभाषावैज्ञानिक सर्वेक्षण सम्पन्न गरेको थियो। यी मध्ये केही भाषाको सर्वेक्षण नेपाल स्थित सिल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरेको थियो। ती भाषाहरूको पूर्ण प्रतिवेदन सम्बन्धित संस्थाले प्रकाशित गरिसकेको छ। यस संस्थाले नेपालको भाषिक सर्वेक्षणमा प्राविधिक र वित्तीय सहयोग पनि गरेको थियो। ७५ वटा भाषाका सर्वेक्षणका पूर्ण प्रतिवेदन केही समय विभागको वेबसाइटमा उपलब्ध थिए। तर आजभोलि भने प्रतिवेदनको सूचीमात्र देखिन्छ, प्रतिवेदनमा रहेका कुरा भने हेर्न सकिन्न। पूर्ण प्रतिवेदनका प्रतिहरू विभागका दराजमा थन्किएका अवस्थामा छन्। सर्वेक्षणमा प्रत्यक्ष रूपमा संलग्न भाषाविज्ञले यी पूर्ण प्रतिवेदनलाई प्रकाशनमा ल्याउनु पर्ने चाहना राखेपनि संबन्धित पक्षको ध्यान दिन सकेको अवस्था छैन।

नेपालको भाषिक सर्वेक्षणको परिकल्पना भाषाविज्ञान केन्द्रीय विभागका तत्कालीन विभागीय प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवको कार्यकालमा भएको थियो। वहाँ निवृत भए पछि २०६६ सालको माघदेखि प्रा.डा. दानराज रेग्मीले विभागीय प्रमुख र भाषिक सर्वेक्षणको निर्देशकको रूपमा भाषिक सर्वेक्षणलाई अगाडि बढाउनु भएको थियो। सर्वेक्षणलाई २०७४ माधमा समापन भएको थियो।यो सर्वेक्षणमा प्रा.निर्मलमान तुलाधर ( सदस्य-सचिव), प्रा.डा. तेजरत्न कंसाकार, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा.डा. नोवल किशोर राई र डा. लवदेव अवस्थीले सर्वेक्षण व्यवस्थापन समितिमा सदस्यको रूपमा योगदान दिनु भएको थियो।

प्रा. रेग्मीको विभागीय प्रमुखको दोस्रो कार्यकाल सकिए पछि वेबसाइटमा पनि प्रतिवेदन राम्रोसँग प्रयोगयोग्य रूपमा नरहेको र पूर्णप्रतिवेदन पनि प्रकाशित नभएकाले संबन्धित भाषिक समुदाय, स्थानीय निकाय, प्रादेशिक तथा सङ्घीय सरकारलाई भाषाविकासका लागि तय गरिने योजना र भाषाहरूको अध्ययन अनुसन्धानमा सहयोग पुगोस् भन्ने ध्ययले करिब ३ वर्ष लगाएर यी दुई खण्डमा विभाजित सारांश तयार गरिएको जानकारी प्रा. रेग्मीले दिनु भएको छ। सन् १८९८-१९२७इ.मा भारतको भाषिक सर्वेक्षण ग्रियर्सनको नेतृत्वमा भएको थियो। त्यसका प्रतिवेदनहरू प्रकाशित भएका छन्।२०१० इ. देखि गनेश देभीको नेतृत्वमा भारतको भाषिक सर्वेक्षण भएको छ। यसका प्रतिवेदन पचास भागमा प्रकाशित भएका छन्।

त्यस्तै नेपालमा प्रा.डा. दानराज रेग्मीको नेतृत्वमा ९६ भाषाको समाजभाषिक सर्वेक्षण भएर ७५ ओटा भाषाहरूको पूर्ण प्रतिवेदनका सारांश उहाँबाटै लेखन र सम्पादन भई प्रकाशन पनि भएका छन्।नेपालका भाषाहरूका लागि यो ठूलो योगदानको कुरा हो।वहाँको योगदानलाई नेपालको सन्दर्भमा भारतका ग्रियर्सन र गनेश देभीको भन्दा कम छैन भन्दा अतिसयोक्ति नहोला।

यसैले किताबहरू नेपालका भाषाहरूका बारेमा पठन-पाठन गराउने, अध्ययन अनुसन्धान गर्ने र नेपालका भाषाहरूको बारेमा रूची राख्ने सबैले पढ्नु पर्ने देखिन्छ। नेपालका राष्ट्रिय पुस्तकालय, विश्वविद्यालयका केन्द्रीय पुस्तकालय, महाविद्यालयका पुस्तकालयमा सन्दर्भ सामग्रीका रूपमा राख्नु अतिनै आवश्यक छ।

यी किताबका महत्त्वका बारेमा प्रकाश पार्दै प्रा. निर्मलमान तुलाधर भन्नु हुन्छ, “नेपालको भाषिक सर्वेक्षणले नेपालका विभिन्न भाषाहरूको करिब नौ वर्ष लगाएर समाजभाषिक सर्वेक्षण गरी तयार पारेका प्रतिवेदनहरूलाई भाषाविज्ञान केन्द्रीय विभागका दराजमा थन्किएर बसेका थिए। सर्वेक्षणको समापन पछि प्रा. रेग्मीले आफूभन्दा बरिष्ठ विद्वानहरूको सल्लाह र सुझावलाई समेत मनन गरी एकल मेहनतको भरमा ७५ ओटा भाषाका पूर्ण प्रतिवेदनलाई पढी सारांशको रूपमा दुई भागमा तयार गरी प्रकाशन गर्नु भएको छ। अरूबाट यो काम सम्भव नै थिएन। यी किताबको प्रकाशन पछि नेपाल लगायत अन्तर्राष्ट्रिय जगतले सर्वेक्षणका निचोडका बारेमा जान्ने मौका पाएको छ। प्रा. रेग्मीको योगदान स्तुत्य छ।” त्यस्तै सर्वेक्षण र किताबका महत्त्वका बारेमा थप प्रकाश पार्दै प्रा. डा. माधव प्रसाद पोखरेल भन्नुहुन्छ, “सर्वेक्षणको समापन पछि दराजमा थन्किएर रहेका नेपालका भाषाहरूका समाजभाषिक सर्वेक्षणका महत्तवपूर्ण प्रतिवेदनलाई निकै ठूलो ध्यर्य र मेहनत गरी प्रा.डा. रेग्मीले सांराशका रूपमा दुई खण्डमा प्रकाशित गर्नु भएको छ, यो निकै ठूलो काम भएको छ। प्रा. रेग्मीले विभिन्न समस्याहरूको बाबजुद पनि सर्वेक्षणलाई अगाडि बढाउनु भयो र नेपालका करिब ९६ वटा भाषाको समाजभाषिक सर्वेक्षण गराई पूर्ण प्रतिवेदन तयार गराउनु भयो। वहाँको विभागीय प्रमुखको पदावधी सर्वेक्षणका प्रतिवेदनहरू प्रकाशित नहुँदै सकिन पुग्यो। उहाँपछिका विभागीय प्रमुखको ध्यान त्यतातिर जान सकेन। प्रतिवेदनका निचोड सर्वसुलभ हुन सकेनन्। विभागका वेबसाइटबाट पनि प्रतिवेदनहरू पढ्न नसकिने अवस्थामा आए।

नेपालको भाषानीति, भाषायोजना र लोपोन्मुख भाषाको संरक्षणका लागि अतिनै उपयोगी प्रतिवेदनहरू त्यसै थन्किएर रहेका थिए। यी सबै कुरालाई मनन गरी प्रा. रेग्मीले करिब ३ वर्ष लगाएर प्रतिवेदनका निचोडलाई सबै नेपाली र विश्वसमुदायलाई प्रयोगका लागि सर्वसुलभ बनाउनु भएको छ। यो वहाँको पनि जीवनको ठूलो उपलब्धी हो र नेपाली समाज लगायत विश्वजगतका लागि पनि ठूलो उपलब्धी हो। उहाँबाहेक अरूबाट यो काम हुन सक्ने अवस्थामा थिएन। यी किताब नेपालका भाषाका बारेमा रूची राख्ने, अध्ययन अध्यापन गर्ने गराउने र नेपालका भाषायोजनाका लागि कामगर्ने सबै व्यक्ति,संस्था तथा सरकारी निकायका लागि अतिनै उपयोगी हुने कुरामा कुनै शङ्का छैन।”

यसैले किताबहरू नेपालका भाषाहरूका बारेमा पठन-पाठन गराउने, अध्ययन अनुसन्धान गर्ने र नेपालका भाषाहरूको बारेमा रूची राख्ने सबैले पढ्नु पर्ने देखिन्छ। नेपालका राष्ट्रिय पुस्तकालय, विश्वविद्यालयका केन्द्रीय पुस्तकालय, महाविद्यालयका पुस्तकालयमा सन्दर्भ सामग्रीका रूपमा राख्नु अतिनै आवश्यक छ। यी खण्डहरू अङ्ग्रेजीमा लेखिएकाले विश्वसमुदायलाई निकै लाभदायक देखिएका छन्। तर नेपाली समाजलाई लाभदायक बनाउनका लागि यी पुस्तकलाई नेपालीमा अनुवाद गर्नु पर्ने देखिएको पाइन्छ। यसमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.