त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास
काठमाडौं- त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ ।
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त भएको पुस्तकालयको भवन भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको हो । कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सँै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहनेछ । सो भवन १५ महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको छ ।
शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पौडेलले दक्ष र गुणस्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने बताउनुभयो । देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको उहाँले उल्लेख गर्नुभयो । त्रिविको गुणस्तर सुधार गरी उत्कृष्टताको केन्द्रको रुपमा विकसित गर्न मन्त्रालय सबै प्रकारका सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उच्च शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई अर्बौं रकम विदेशिनबाट जोगाउनुपर्ने धारणासमेत उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । पुस्तकालय सामाजिक जीवनलाई व्यवस्थित गर्ने, विचार र दर्शन आदनप्रदान गर्ने, नवीनतम खोज र अनुसन्धान गर्ने महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा भारतीय दूतावास हर्षित भएको उहाँले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयको विकासका लागि भारत सरकारले लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आइरहेको बताउनुभयो । त्रिविका आंगिक क्याम्पसमा हालसम्म पनि भारतीय प्राध्यापक कार्यरत रहेको उल्लेख गर्दै उहाँले त्रिवि केन्द्रीय पुस्तकालयको स्थापनाकालदेखिनै सहयोग गर्दै आइरहेको भारत सरकारले हाल पुस्तकालयको अत्याधुनिक भवन निर्माण गर्न आर्थिक सहयोग गरेर सम्बन्ध थप प्रगाढ बनाएको धारणा व्यक्त गर्नुभएको थियो ।
विश्वविद्यालयले गुणस्तर सुधारका लागि अधिकतम प्रयत्न गरिरहेको उल्लेख गर्दै एक्जिम बैंकको सहयोगमा त्रिविका ३८ वटा आंगिक क्याम्पसको भौतिक पूर्वाधारलाई थप व्यवस्थित र सृदृढ बनाउनेसमेत उहाँले जानकारी गराउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आन्तरिक योजना कार्यान्वयन एकाइ योजना प्रमुख रामशरण सापकोटाले भारत सरकारको सहयोगमा २०७२ सालको भूकम्पपश्चात् ७० वटा विद्यालय निर्माणमा आर्थिक सहयोग प्राप्त भएको र अन्तिम कार्यक्रमको रुपमा त्रिवि केन्द्रीय पुस्तकालयको शिलान्यास गरिएको उल्लेख गर्नुभएको थियो । पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले पुस्तकालयलाई प्रविधिमैत्री र अत्याधुनिक बनाई घरमै बसेर विश्वविद्यालयमा उपलब्ध पुस्तक पढ्न सक्ने वातावरण बनाउने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरको पुस्तकालयले मुलुकको शैक्षिक स्तरोन्नतिमा सकारात्मक योगदान पुर्याउने उल्लेख गर्नुहुँदै २४ सैँ घण्टा सेवा दिन त्रिवि केन्द्रीय पुस्तकालय तयार रहेकोसमेत बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्