७ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि संघीय प्रहरी कार्यालय सिल
काभ्रे– काभ्रेको बनेपामा जनागालमा रहेको संघीय प्रहरी ईकाई कार्यालय सिल गरिएको छ ।
आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले संघीय प्रहरी ईकाई कार्यालय सिल गर्ने निर्णय गरेको हो । काभ्रेको संघीय प्रहरी ईकाई कार्यालयका ७ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि सिल गर्ने निर्णय गरिएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । संक्रमित प्रहरीको सम्पर्कमा आएकाहरुका स्वाब संकलन गरी परीक्षण गरिने बताएको छ ।
बैठकले काभ्रेको बनेपामा रहेको शीर मेमोरियल अस्पतालाई कोभिड अस्पताल बनाउन जिल्ला संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले लेभल ३ को कोभिड अस्पतालको मान्यताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले जिल्लामा मानिसको भीडभाड दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, मालपोत र नापी कार्यालयलाई रोटेशन अनुसार सेवा प्रवाह गर्ने निर्णय समेत गरिएको छ ।
बैठकले काभ्रे जिल्लाभित्रका सरकारी कार्यालयहरुमा जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको समेत अनुगमन र निरीक्षण गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । त्यसमा २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्