मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
सिन्धुपाल्चोक- मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरण गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ ।
समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो ।
केही काम बाँकी भएपनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उहाँले बताउनुभयो । आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।
गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।
गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।-
प्रतिक्रिया राख्नुहोस्