हिउँ पहिरो गएको ठाउँमा खोजी तीब्र पारेका छौं : प्रमुख जिल्ला अधिकारी शर्मा

काठमाडौं– झण्डै पाँच घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट गएको कात्तिकमा पहिरो गएको धौलागिरी हिमाल क्षेत्रमा खोजी तीब्र पारिएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखराबाट स्थानीय समयअनुसार बिहान ९ : ५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १० : ७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको जनाएको छ ।

जहाजको अवस्थाका बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकामा प्रतिकूल मौसमका कारण उक्त हेलिकप्टर पुनःजोमसोम नै फर्किएको छ ।

काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धारकार्यका लागि थप हेलिकप्टर तयारी अवस्थामा रहेकाले मौसम सुधार आउनासाथ हवाईमार्गबाट खोजकार्य पुनःसुरु गरिने केन्द्रले जनाएको छ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.