स्वास्थ्य राज्यमन्त्री विरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा पर्‍यो उजुरी

दाङ– लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वली विरुद्ध कारबाहीको लागी किटानी जाहेरी परेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा मिना भण्डारी बस्नेतले मन्त्री विमलालाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको हो । प्रहरीले त्यो जाहेरीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएको छ ।‘अनुसन्धान र कारबाही घोराहीबाटै हुने भएकाले यहाँ आएको जाहेरीलाई घोराही पठाएका छौं,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख रञ्जन स्वारले भन्नुभयो, ‘जिल्लामा पठाउन आदेश भए अनुसार उतै पठाएका छौं ।’

घर भित्र छिरेर आफू र छोरीलाई कुटपीट गरेको भन्दै कारबाहीको माग सहित उजुरी दिनुभएको हो । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री विमलाविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताउनुभयो । ‘राज्यमन्त्रीज्यूविरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,’ एसपी काफ्ले भन्नुभयो–‘ईप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानूनी प्रक्रिया अगाडि बढाउँछौँ ।’

स्वास्थ्य राज्यमन्त्री विमलाले आज बिहान एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गर्नुभएको थियो । उहाँलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

मीनाले विमलाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिनुभएको हो । विमला बिहान ८:४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको उहाँले बताउनुभयो । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि हमला गरेको उहाँको भनाइ छ । त्यस क्रममा आफ्नो कपाल लुछेर लडाई लात्ती र मुड्कीले हानेको उहाँले जाहेरीमा उल्लेख गर्नुभएको छ । छुट्याउन आउँदा ६ वर्षकी छोरीलाई समेत हातपात गरेको उहाँले बताउनुभयो । विमला वली दिवंगत उत्तरकुमार वलीकी श्रीमती हुनुहुन्छ ।

सवारी दुर्घटनामा वलीको निधन पछि नेकपाले उत्तरको ठाउँमा विमलालई चुनाव लडाएको थियो । निर्वाचन जीतेकी विमलाले नेकपा माओवादी पार्टी रोज्नुभएको थियो । मन्त्री भएकै समयमा एकराज बस्नेत सँग वलीको चुम्बन गरेको तस्विर सार्वजनिक भएको थियो । त्यसपछि वली विवादमा तानिएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.