घट्यो बाणिज्य बैंकहरुको नाफा (भिडियो)
काठमाडौं- गत आर्थिक बर्षमा बाणिज्य बैकहरुको नाफामा ११ प्रतिशतले गिरावट आएको छ ।
कोरोना महामारीका कारण वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य गिरावट आएको हो ।
बाणिज्य बैकहरुले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा बाणिज्य बैंकहरुको नाफा ६ अर्ब २७ करोड रुपँयाले घटेको छ ।
हाल सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ वटा ‘क’ वर्गका वाणिज्य बैंकले गत आर्थिक बर्षको वार्षिक विवरण प्रकाशित गरेका छन् ।
उनीहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा असर परेको देखिएको हो।
बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार २५ वटा बाणिज्य बैंकहरुले आर्थिक बर्ष ०७६/७७ मा कूल ५१ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
अघिल्लो आर्थिक बर्षमा बाणिज्य बैंकहरुले ५७ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेका थिए ।
अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा बैंकहरुको नाफा छ अर्ब २७ करोड रुपैयाँले घटेको देखिन्छ । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये १८ बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको पाइएको छ ।
विवरण अनुसार सात वाणिज्य बैंकको नाफा भने सामान्य वृद्धि भएको छ ।
आर्थिक बर्षको ०७६/७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ। सिभिल बैंकको नाफा ३५ प्रतिशतले घटेको छ ।
सबै भन्दा बढी नाफा आर्जन गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। राष्ट्रिय बाणिज्य बैकले चार अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्