सभामुख सापकोटा र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौं- संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्‍याउन सफल हुने विश्वास गर्नु भयो ।

नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं बर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं वर्ष मनाइरहेको सन्दर्भ स्मरण गर्नु भयो । उहाँले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राख्नु भयो ।

सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्‍याएको र नयाँ अध्यायको सुरुवात गरेको बताउनुभयो । दुबै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाएको उहाँको भनाई थियो ।

भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यस विरुद्ध जुधिरहँदा समेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले जलवायु परिवर्तन लगायत विश्व राजनीतिक मञ्चमा देखा परेका संकट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने धारणा राख्नु भयो । ‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नु पर्छ’ सभामुख सापकोटाले भन्नु भयो । उहाँले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको बताउँदै दुबै देशका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने धारणा राख्नुभयो ।

सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान निकै चिन्तित रहेको बताउँदै भेटमा मलको विषयलाई महत्वका साथ उल्लेख गर्न चाहेको बताउनुभयो ।

सभामुख सापकोटासँगको भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गर्नुभयो ।

लामो र ऐतिहासिक सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उहाँले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राख्नुभयो । जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.