रोपोको न्वारन गर्न हरेलो पर्ब
स्याङ्जा-असारमा रोपेको रोपोलाई न्वारन गर्दै धानको नामाकरण गर्ने हरेलो पर्ब स्याङ्जामा कृषकहरुले मनाएका छन् ।
नेपालको पहाडी श्रेत्रमा मनाइने भूमि पूजा अर्थात हरेलो पर्वलाई कृषकले संरक्षण गर्दै आएको भएपनि युवा पुस्ताले भने उति वास्ता गर्ने गरेको पाइँदैन ।
असारमा रोपेको धानको रोपोलाई न्वारन गरेपछि मात्र धानको नामले चिनिन्छ भने हरेलो नगरेको धान चामल शुभ कार्यमा अशुद्ध मानिन्छ भन्ने विश्वास छ ।
प्रत्येक वर्ष भदौ महिनाको पहिलो मंगलबार पहाडी क्षेत्रका कृषकहरुले हरेलो पर्व मनाउने गर्छन खेतको डिलमा मियालको हाँगा गाड्ने र यो हाँगामा नौ प्रकारको शुद्ध बिउबिजन , काठ , मुसाको विष्टा, धानको भुस मिसाएर मकैको खोस्टामा पोको पारी बाबियोको डोरीले मियालको हाँगामा बाँध्ने चलन छ ।
यसो गर्दा किरा फट्याङ्ग्राबाट बाली जोगिन्छ भन्ने मान्यता छ ।
कृषि क्षेत्रमा प्रबिधि भित्रिए पनि किरा फट्याङ्ग्राबाट धानलाई जोगाउने परम्परागत बिश्वास स्याङजामा कायमै छ रहेको यहाँका किसानहरु बताउँछन।
यही पर्वलाई असारमा रोपिएको रोपोको न्वारन गर्ने र धानको नाम राख्ने पर्वको रुपमा पनि मनाइन्छ ।
पहाडी क्षेत्रमा यो परम्परा संरक्षित भएको भएपनि नयाँ पुस्ताका युवाहरु यो संस्कारलाई व्यवहारमा उतार्न उती रुचि राख्दैनन । त्यसैले पनि यो परम्पार जोगाउन कै लागि भनेपनि हरेक बर्ष हरेलो पर्व मनाउने गरिएको यहाँका किसानको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्