संसद सचिवालयद्वारा नयाँ लोगो अस्वीकार
काठमाडौं– संघीय संसद सचिवालयले नेपालको नयाँ नक्सासहितको लोगोप्रति नकारात्मक टिप्पणी भएपछि अस्वीकार गरेको छ ।
बागमती प्रदेश सरकार अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले तयार गरेको लोगो फिर्ता गरिएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । लोगोमा नेपाल नक्सा गलत प्रयोग गरिएको भन्दै नकारात्मक टिप्पणी भएको थियो ।
सचिवालयले संघीय संसदका पदाधिकारी र सदस्यहरुले लगाउने संघीय संसदको प्रतिक चिन्हको ब्याच पिन ३ सय ५० थान तयार गर्न बागमती प्रदेश सरकार अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरलाई जिम्मा दिएको थियो ।
प्राप्त भएका केही ब्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी केही समस्याहरु देखिएकोले सुधार र परिमार्जन गर्न फिर्ता पठाइएको हो । ‘ब्याच पिन तयार गर्ने सो कार्यालयबाट नेपालको अद्यावधिक नक्सा लगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ,’ पाण्डेले बुधबार विज्ञप्तीमा भन्नुभएको छ, ‘सचिवालय प्रतिक चिन्हको ब्याच पिनको सम्बन्धमा यसको स्तरीयता र निर्धारित मापदण्ड अनुसारको निर्माण गरी प्रयोगमा ल्याउने कार्यमा आवश्यक कार्य गरिरहेको जानकारी गराउँदछ ।’
प्रतिक्रिया राख्नुहोस्