नारायणी नदीले देवघाटमा सतर्कता पार गर्यो
चितवन- नारायणी नदीले देवघाटमा सतर्कता पार गरेको छ ।
जलसतह थप बढ्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले आज साँझ सम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैगरी दाङ भएर बग्ने पश्चिम राप्ती नदिमा जलसतहले खतराको तह पार गरेको छ । दाङको बगासोति जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । अहिले राप्ती नदिमा जलसतह ६.४ मिटर पुगेको छ । सतर्कता तह ५.५ मिटर हो भने ६.२ मिटर जलसतह पुग्यो भने खतराको तह पार गरेको मानिन्छ ।
दुई दिन देखि लगातार पानी पर्दा डुबान र कटानको जोखिम बढेको छ । पश्चिम राप्ती र बबई नदि क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । लगातारको वर्षाले बबई नदीमा पनि जलस्तर खतराको चिह्नमाथि पुगेको छ । बबई नदीमा जलस्तर ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय प्रशासनले बबई नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मनसुन पुन: सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले खोला, नाला र नदीमा जलस्तर बढ्दै गएको छ ।
प्रतिक्रिया राख्नुहोस्