बाढीपहिरोमा देशभर ३० जनाको ज्यान गयो

काठमाडौं– गत बुधबारदेखि सुरु भएको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण आएको बाढीपहिरोमा परी ३० जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका अनुसार लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी काठमाडौँमा तीनजनाको मृत्यु भएको छ भने पहिरोले घर पुरिँदा जुम्लामा सात जनाको मृत्यु भएको छ । यसैगरी पहिरोले घर पुरिँदा प्युठानमा छ जनाको मृत्यु भएको छ ।

मकवानपुरमा पहिरोमा परी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ र नुवाकोटमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ भने झापा र रौतहटमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डोल्पा र सल्यानमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोबाट कपिलवस्तुमा एक र दाङमा दुईजनाको मृत्यु भएको छ । पहिरोमा परी गुल्मी र पाल्पामा एक–एक जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो चार दिनमा बाढीपहिरोमा परी तीन जना बेपत्ता भएका छन् । वर्षाका कारण आएको बाढीपहिरोले देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको छ । वर्षाका कारण बाढीपहिरोले पुर्‌याएको भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.