उम्मेदवारलाई लाञ्छना लगाउँदै बनाएका झुठा फेसबुक पेज तथा ग्रुप हटाउन निर्वाचन आयोगको चेतावनी
काठमाडौं- निर्वाचन आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका झुठा फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमा विभिन्न पेज तथा ग्रुप निर्माण गरी व्यक्तिगत लाञ्छना लगाइएकोप्रति आयोगले ध्यानाकर्षण भएको भन्दै त्यस्ता पेज र ग्रुप हटाउन निर्देशन दिएको हो ।
उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेन समेतका फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरु बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
नेताहरूलाई लाञ्छना लगाउँदै बनेका त्यस्ता ग्रुप र पेज तत्काल हटाइ अब यस्ता किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइएको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यस्तो कसुर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था भएको स्मरण गराउँदै आयोगले झुठा फेसबुक पेज र ग्रुपहरु तत्काल नहटाए कानुन बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्