आचारसंहिता कडाइमा प्रेस काउन्सिल

१७ वटा समाचार माध्यमलाई कारबाही

काठमाडौं– प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको छ ।

काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा यही कात्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरण अनुसार २ वटा छापा माध्यम, २ वटा टेलिभिजन र १३ वटा अनलाइनले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको जनाएको छ । यी समाचार माध्यममध्ये ४ वटालाई निर्देशन, २ वटालाई ध्यानाकर्षण, ६ वटालाई सचेत र ४ वटालाई स्पष्टीकरण पत्र पठाइएको छ ।

त्यसैगरी दर्ता/सूचीकरण नभएका २ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केही सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको एक पक्षीय वकालत गर्ने, एउटै सामग्रीमा कुनै राजनीतिक दल, दलका उम्मेदवारको बारेमा पक्षपोषण गर्ने र कसैको बारेमा नकारात्मक प्रभाव पार्ने तथा होच्याउने किसिमले तथ्यगत पुष्ट्याइँ बेगर विश्लेषण हुने गरेको पाइएको हुँदा त्यसतर्फ सजगता अपनाउन पनि प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.