उपत्यकामा मात्रै २ सय १६ जना संक्रमित, देशभर ६ सय ३४
सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ६ सय ३४ संक्रमित भएका छन् ।
नियमित प्रेस ब्रिफिङमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १२५१९ को पीसीआर परीक्षण गर्दा ६ सय ३४ संक्रमित भेटिएका हुन् ।
२४ घण्टामा १२६ डिस्चार्ज भएका छन् । हालसम्म १८३५० जना कोरोनामुक्त भएका छन् ।
नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१११७ पुगेको छ ।
काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १६० ललितपुरमा ६ र भक्तपुरमा ५० जना छन् ।
बितेको २४ घण्टामा सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ । प्रवक्ता प्रा.डा. गौतमका अनुसार पर्सामा ३, सुनसरीमा २ तथा बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक–एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्