मालारानी मन्दिर : संरक्षणमा उपेक्षा
अर्घाखाँची- धार्मिक र पर्यटकीय सम्भावना बोकेको अर्घाखाँचीको मालारानी मन्दिर अपेक्षाकृत रुपमा चर्चामा आउन सकेको छैन ।
जिल्लाको मालारानी गाउँपालिकामा रहेको यो मन्दिरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासुलु लगायतका हिमक्षृङखला अवलोकन गर्न सकिन्छ ।
बाइसे-चौविसे राज्यको पालामा, माला नाम गरेकी रानी यहाँ बसोबास गरेकी कारण उनैको नामबाट मालारानी नामाकरण गरिएको किम्वदन्तीमा उल्लेख छ ।
त्यो बेला चर्न आएका गाईहरुले यो स्थानमा रहेको एउटा ढुङ्गामाथि दूध चढाउने कारण उक्त शिलाको सम्मानसहित मन्दिर निर्माण गरिएको भएपनि यसको आधुनिकीकरण र व्यवस्थित गर्ने कार्य संस्थापकद्वय सुवेदार जितमान राना काउछा मगर र सुवेदार चन्द्रलाल राना काउछा मगरले गर्नु भएको थियो ।
जसअनुसार चैते अष्टमी र महानवमीका दिन पहिलो बलि काउछा परिवारले चढाउने प्रचलन हालसम्मै कायम रहेको छ ।
मन्दिर भित्र कालीका देवी , सिद्ध , गणेश , हनुमान , हवनकुण्ड , शिव लिङ्ग लगायतका मुर्तीहरु रहेका छन् ।
केही बर्ष अगाडिसम्म डाँफे समेत आउने गरेको यो स्थानमा रातो टाउको अनि चन्द्रमा आकारको सर्प बेलाबखतमा देखिने गरेको स्थानीय राजु राना बताउँछन ।
यो मन्दिर ५ रोपनी जमिनमा रहेको छ । मन्दिरको संरक्षणका लागि काउछा परिवारका पूर्खादेखि नै सहयोग रहेको र अहिले बीस भाइ नातिहरुले करिव दश लाख लागतमा मन्दिर प्रवेशद्वार निर्माण गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रेमवहादुर राना बताउनुहुन्छ ।
मालारानी मन्दिरदेखि पाँच मिनेटको पैदलयात्रामा पुग्न सकिने मनोचिन्ते पानी एउटा अनुसन्धानको विषय रहेको छ ।
एउटा तेर्सिएको गुराँसको फेदमा परापूर्वकालदेखि रहेको पानी कहिल्यै पनि घटने र बढने गर्दैन् ।
पानी भएको रूखदेखि तलपट्टि सुक्खा रहनुका साथै कहाँबाट पानी आएको छ र कहाँ गइरहेको छ भन्ने कुरा स्थानीयले पत्ता लगाउन सकेका छैनन् ।
वि.सं. १९६५ मा यही पानीको प्रयोगबाट मालारानी मन्दिर निर्माण गरिएको स्थानीय खिमवहादुर राना सुनाउनुहुन्छ ।
घरमा पशुबाट फलिफाप नभएमा यो मन्दिरलाई सम्झने वा पशुका दाम्ला चढाउने गरेमा घरको गोठ भरिभराउ हुनुका साथै मनोचिन्ते पानीलाई यो मन्दिरमा चढाए मनोकांक्षा पुरा हुने बिश्वास रही आएको छ ।
चारैतर्फ हरियाली, अत्यन्तै चिसो एवं स्वच्छ हवाले भरिपूण यहाँ नजिकैको घेराको भिरमा गिद्दहरुको बासस्थान छ । हर्रोबर्रो, चिराइतो, सठुवा जस्ता महत्वपूर्ण जडिवुटीहरु यहाँको जंगलमा पाइन्छ ।
मालारानीको महत्वलाई बुझ्न र बुझाउनेतर्फ सम्बन्धित पक्षले ध्यान पुर्याउने हो भने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ ।।
प्रतिक्रिया राख्नुहोस्