सकियो चालक अनुमतिपत्र छपाइः वितरण अनिश्चित

काठमाडौँ- गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन ।

विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकाएको हो । सामान्यावस्थामा तीन सिफ्टमा अनुमतिपत्र छपाइ गरिँदै आएकामा बन्दाबन्दी अवधिमा चार सिफ्टमा छपाइ गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

उहाँका अनुसार नियमित रुपमा जसरी छपाइ गरिएको भए अझैसम्म छापिसकिने थिएन । विभागले गत आवको अन्तिमसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने लक्ष्य लिएको थियो ।

विभागले बन्दाबन्दीकै अवधिमा झण्डै पाँच लाख अनुमतिपत्र छपाइ गरेको थियो । साउन महिनाभरमा झण्डै एक लाख अनुमतिपत्र छापिएको थियो । बन्दाबन्दी सकिएपछि असार र साउन अवधिमा नवीकरण भएका अनुमतिपत्रसमेत अहिले छपाइको काम भइरहेको छ ।

अब छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या अति कम मात्रै रहेको यातायात व्यवस्था विभागले जनाएको छ । अहिलेसम्म साउन दोस्रो सातासम्म आएका अनुमतिपत्रको छपाइ सकिएको विभागले जनाएको थियो ।

कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दी चैतदेखि जेठसम्म हुँदा यातायात व्यवस्था कार्यालयले पनि सेवा दिएका थिएनन् । सरकारले असारदेखि बन्दाबन्दी खुकुलो गरेसँगै कार्यालयले अनुमतिपत्र नवीकरण थालेका थिए ।

वाग्मती प्रदेश सरकारअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका चार वटै कार्यालयले असार र साउनमा नयाँ अनुमतिपत्र खुलाएका थिएनन् । कार्यालयले असारमा विभागबाट छापिएर आएका अनुमतिपत्र वितरण गरेका थिए ।

सेवाग्राहीको भीडभाड धेरै भएपछि सो सेवा साउनमा रोक्नुपरेको एकान्तकुनास्थित कार्यालयमा प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ”सेवाग्राहीले राजस्व तिरेको कागजबाट पनि सवारीसाधन चलाउन सक्नुहुन्छ भनेर वितरण रोकिएको थियो ।”

कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राख्दा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको थियो । सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गरेपछि १० दिनसम्म छपाइ ठप्प थियो । चैत २० गतेदेखि नियमितरुपमा अनुमतिपत्र छापिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.