अलपत्र भरतपुर केन्द्रीय बस टर्मिनललाई व्यवस्थित बनाउन भरतपुर महानगरले देखायो चासो

चितवन-  दक्षिण एसियाकै नमुना बस टर्मिनललाई व्यवस्थित बनाउन भरतपुर महानगरपालिकाले चासो देखाएको छ ।

भरतपुर वडा नं. ९ मा रहेको केन्द्रीय बसटर्मिनल एकदशक अघि निर्माण गरिएको हो । एसियाली विकास बैंक (एडिबी)को अनुदान तथा ऋण र तत्कालिन भरतपुर नगर विकास कोषको ऋण गरी १० करोड ९१ लाख लगानी गरेर बनेको यो केन्द्रीय बस टर्मिनल हो ।

भरतपुर महानगरपालिकाको तीन र राष्ट्रिय सहकारी विकास बोर्डको साढे दुई विगहागरी पाँच विगहा क्षेत्रफलमा बनेको बसपार्क अपलपत्र पर्दै गएपछि महानगरपालिकाले यो विषयमा चासो देखाएको छ ।

अस्तव्यस्त बन्दै गएको बस टर्मिनललाई पौष ७ गतेदेखि नै व्यवस्थित रुपमा संचालन गर्ने महानगरले निर्णय गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय, विभिन्न यातायात व्यवसायीहरुबीच छलफल गरेर महानगरले यसलाई व्यवस्थित बनाउने निर्णयमा पुगेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिनुभयो ।

महानगरपालिकाका उपमेयर एवम् अनुगमन समितिका संयोजक चित्रसेन अधिकारीसहित चितवन प्रहरी प्रमुख नवराज अधिकारी सहितको टोली शनिबार बसटर्मिनल पुगेर अनुगमन गरेका छन् ।

भरतपुर ९ मा रहेको केन्द्रीय बस टर्मिनलमा सरसफाई गर्दै व्यवस्थित बनाउने अभियान चितवन प्रहरीको सहकार्यमा भरतपुर महानगरले सुरु गरेको हो । भरतपुर महानगरको स्मार्ट सिटी बनाउने अभियान अन्र्तगत मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी आफै स्थलगत अनुगमनसँगै सरसफाई गर्दै व्यवस्थित बनाउने अभियान सुरु गरेको महानगरले जनाएको छ ।

भरतपुर महानगर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा बस व्यवस्थित बनाउने र बजारको सौन्र्दय करणलाई थप व्यवस्थित बनाउन सरसफाई सहित बसपार्क बाटै महानगरको यातायात व्यवस्थापन गर्ने मेयर रेनुले बताउनुभयो । बस टर्मिनललाई व्यस्थित बनाउन सुरक्षा संयन्त्रले पनि तदारुकता देखाएका छन् ।

चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बसटर्मिनललाई व्यवस्थित बनाउन सबैसँग छलफल गरेर लिखित रुपमै सहमती भएको बताउनुभयो । सवारी चालक वा यातायात व्यवसायीले अटेर गरेमा निर्मतापूर्वक कार्वाही गरिने स्पष्टपार्नुभयो । ‘नीति नियम मान्दिन भनेर पाइन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।

भरतपुरलाई सुन्दर र व्यस्थ्ति बनाउने अभियानमा महानगरपालिका सक्रिय बन्दै गएको छ । भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले भरतपुर केन्द्रीय बसटर्मिनलवाट सुरु भएको यो अभियानलाई महानगरक्षेत्रभर नै यो अभियान लागु हुने बताउनुभयो ।

यो नमुना बसटर्मिनलको बसपार्कको पार्किङ वेमा सहित गरेर ८ सयवटा बस अटाउँछन् ।

बसपार्कमा रहेको दुईसय अट्ने सुविधायुक्त प्रतिक्षालय सृुनसान देखिन्छ । यहाँका पोलहरुमा बत्ती बल्दैन । शौचालय अस्तव्यस्तका कारण पूर्ण रुपमा दुर्गन्धित छ ।

टर्मिनलको माथिल्लो तलामा ठेकदार कम्पनी, यातायात समिति र प्रहरी बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.