जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : उपाध्यक्ष नेम्बाङ
काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताउनुभएको छ ।
एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उहाँले संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताउनुभयो । उहाँले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पु¥याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पु¥याउने धारणा राख्नुभयो ।
उहाँले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै तर नेपालमा छ वर्षमा नै संविधान कार्यान्वयन गरिएको बताउनुभयो । उहाँले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ÷दश वर्षमा भत्कने अवस्था नरहेको बताउनुभयो ।
“जनताले जनताका निम्ति बनाएको संविधान हो”, उहाँले भन्नुभयो, “यो संविधान कुनै राणा शासन, राजाले नभई जनताले आफैँ बनाएको हुनाले आठ÷दश वर्षमा भत्कने अवस्थाको खतरा छैन ।” उहाँले सहिद सम्मानमा राजनीतिक दलबीच समझदारी गरी निर्माण गरिएको संविधानको कार्यान्वयन गर्दै जाने र आवश्यकताअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुको विकल्प नभएको बताउनुभयो ।
अर्का उपाध्यक्ष युवराज ज्ञवालीले सहिदको बलिदानले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक क्रान्ति सम्पन्न भए पनि आर्थिक, सामाजिक क्रान्ति बाँकी रहेको उल्लेख गर्नुभयो ।
महासचिव शङ्कर पोखरेलले राजनीतिक दुष्चक्र फेरि पनि कायम गर्न खोजिएको आशङ्का गर्नुभयो । “मुलुकमा फेरि पनि राजनीतिक अस्थिरताका खेल भइरहेका छन्”, उहाँले भन्नुभयो, “त्यसप्रति एमाले गम्भीर रहेको छ । एमाले अस्थिरताको खेललाई समाधान गर्न दृढ रहेको छ ।”
प्रतिक्रिया राख्नुहोस्