सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने आज अन्तिम दिन
कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज दिन हो । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने कार्यतालिका छ ।
मुख्यमन्त्री रावलले हिजोको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर सत्ता साझेदारहरुबीच सहमति हुन नसकेपछि हिजोको बैठक स्थगित भएको थियो ।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ ।
प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना सांसदले पक्षमा मतदान गर्नुपर्नेछ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेका कारण मुख्यमन्त्रीले बहुमत प्राप्त गर्न सक्ने अवस्था न्युन छ ।
प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संबिधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसावले नेपाली काँग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताउनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्