राष्ट्रिय सहमति र राष्ट्रपति निर्वाचन : प्रष्ट प्रधानमन्त्री

काठमाडौँ- राष्ट्रपति निर्वाचनको प्रकृया आउने साताको बुधबारबाट शुरु हुँदैछ ।

आउने बुधबार फागुन १० गते मतदाता नामावली प्रकाशनसंगै प्रकृया शुरु हुनेछ । फागुन १३ गते शनिबार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

आजको २० दिनपछि फागुन २५ गते विहीबार राष्ट्रपति निर्वाचन हुनेछ । राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटघाट र छलफलको समय र संख्या पनि बढेको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएपछिको करिव ३७ दिनमा दुइ शीर्ष नेताबीच १२ पटक छलफल भएको छ । विहीबार पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच लामै छलफल भयो ।

छलफलमा एमाले अध्यक्ष ओलीले समझदारी अनुसार वर्तमान सत्ता गठबन्धनलाई जोगाउदै पुस १० को समझदारी अनुसार नेकपा एमालेबाटै राष्ट्रपति हुनुपर्ने विषय दोहोर्याएर राख्नुभयो ।

तर सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले राषट्रपतिका विषयमा तीनवटा विषय प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्रीको प्रेस सचिवालयका अनुसार विहीबारको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको तीनवटा बुँदा मध्ये पहिलो थियो – शक्ति सन्तुलन र शक्ति पृथक्कीकरणको सिद्धान्त बमोजिम विगतमा नचल्दा भएका दुर्घटनाबाट शिक्षा लिनुपर्ने विषय ।

दोश्रो- प्रतिनिधिसभामा पुस २६ गते प्रधानमन्त्रीलाई प्राप्त विश्वासको मतलाई जोगाएर लानुपर्ने विषय । र तेश्रो- राष्ट्रपति संविधानको रक्षक र अविभावक हुने भएकाले त्यो जिम्मेवारी वोक्न सक्ने व्यक्तित्व र यसका लागि खासगरी तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रवीच राष्ट्रिय सहमति कायम होस प्रधानमन्त्रीको चाहना ।

भावी राष्ट्रपतिबारे नेकपा माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने समाचार सार्वजनिक भैरहँदा विहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच विगतका भन्दा लामो छलफल भएको हो ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिंदो भएपनि हालसम्म संसदमा रहेका दुई ठूला दल काँग्रेस र एमालेबाट दावीमात्र आएको छ । तर कुनैपनि दलले हालसम्म नाम भने अगाडि सारेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो र दोश्रो कार्यकालको सिकाइ र अनुभव वर्तमान कार्यकाललाई परिणाममुखी बनाउनेमा हुनुहुन्छ । त्यसैले सकेसम्म दुई ठूला दलसहितका पार्टीहरुलाई मिलाउदै सहमतिबाटै सवै विषयको निकास र निदान खोज्ने र गर्ने प्रयास प्रधानमन्त्री प्रचण्डको देखिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.