हुम्लाको सिंगो मासपुरबासी २९ वर्षसम्म पनि लालपुर्जाविहीन
हुम्ला- हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुर गाउँका दलवीर रोकाया उमेरले ८५ वर्ष कटिसके । मासपुरमा भएको उहाँको जग्गा मालपोत कार्यालय सिमकोटको मोडमा दर्ता छ । तर, अहिलेसम्म दलवीरको हातमा लालपुर्जा भने छैन ।
दलवीरले पञ्चायतकालदेखि साविकको मैला गाउँ विकास समिति– ७ को बेदलचौरमा एकमाना चामल र नुन लिएर जग्गाको तिरो तिर्ने गरेको अनुभव सुनाउनुभयो । ‘जग्गाको लालपुर्जा कस्तो हुन्छ केही थाहा छैन,’ ‘लालपुर्जा नदेखेरै मरिने भइयो ।’ उहाँको भनाइ छ ।
सोही गाउँका ८० वर्षीय मुङग्या रोकायाले जग्गाको लालपुर्जा पाउने सपना पूरा नहुँदै दुई वर्षअघि नै संसार छाडिसके । मासपुरको जग्गा ०५० फागुन १९ गते मालपोत कार्यालय हुम्लामा दर्ता भएको थियो । मालपोतमा जग्गा दर्ता भएको २९ वर्ष पूरा भइसक्दासमेत यहाँका २४ घरधुरी स्थानीयले अहिलेसम्म लालपुर्जा पाएका छैनन् ।
हातमा लालपुर्जा नहुँदा मासपुरवासी सरकारले दिँदै आएको कृषि अनुदानबाट समेत वञ्चित भएका छन् । सरकारले जिल्ला कृषि कार्यालयबाट लाखौँ रुपैयाँ कृषिका लागि अनुदान दिने गरेको छ । तर, यहाँका २४ घरधुरीले अहिलेसम्म राज्यबाट पाउने कुनै पनि कुषि अनुदान पाएका छैनन् ।
जिल्ला मालपोत कार्यालय हुम्ला भने लालपुर्जा लिन जग्गाधनी नै नआएको बताउँछ । ताजाँकोट गाउँपालिकामा अनुगमनका क्रममा आफूले लालपुर्जा नपाएको थाहा पाएको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख रवीन्द्र शाहीले बताउनुभयो । ‘गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिन्छौँ भनेको छु, त्यहाँबाट स्थानीय आएका छैनन्,’ शाहीको भनाइ छ ।
मासपुर गाउँका स्थानीयले लालपुर्जा लिने चासो नदेखाउँदा समस्या आएको उहाँको भनाइ छ । २९ वर्षदेखि भौगोलिक हिसाबले टाढा रहेको हुम्ला मासपुर गाउँका स्थानीय लालपुर्जाविहीन भएका छन् । ‘प्रतिलिपि दिएका छौँ, पुर्जा लिन अझै आएका छैनन् । अनलाइनमा फर्म भर्नुपर्छ, कोही मृतक भएका नामसारी गर्नुपर्छ,’ शाहीले भन्नुभयो ।
तर, ताजाँकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले कुनै पहलकदमी नलिँदा आफूहरूले दुःख पाएको स्थानीयको गुनासो छ । जग्गाधानी धेरैजसो वृद्धवृद्धा भएकाले सदरमुकामसम्म पुग्न नसक्ने उनीहरू बताउँछन् ।
‘लालपुर्जाकै लागि सदरमुकाम सिमकोट पुग्न चार दिन हिँड्नुपर्छ । नामसारीका लागि बुढाबुढी त्यहाँ पुग्नै सक्दैनन्,’ ‘गाउँपालिकाले शिविरजस्तो चलाएर गाउँमै लालपुर्जा वितरण गर्न पहल गरे सहज हुने थियो ।’ स्थानीयको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्