संखुवासभाको हिमालय किरण क्याम्पसमा ५० बेडको आइसोलेसन कक्ष निर्माण

खाँदबारी– संखुवासभामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला अस्पतालले ५० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ । खाँदबारी नगरपालिका ७ मा रहेको हिमालय किरण पब्लिक क्याम्पसको भवनमा सनिबार ५० बेडको आइसोलेशन कक्षको निर्माण गरिएको हो ।
यस अघि उक्त क्याम्पसमा १० बेडको मात्र आइसोलेसन कक्ष बनाइएको थियो । सोहि कक्षमा अहिले ८ जना संक्रमितहरुको उपचार भइरहेको छ । यस अघि ४ जनाको यहि आइसोलेसनमा राखेर उपचार गरि घर पठाइएको छ । पछिल्लो समय संक्रमितहरुको संख्या बढ्न थालेपछि आईसोलेसनको क्षमता बढाउनु परेको खाँदबारी अस्पतालका निमित्त मेसु सुन्दरश्याम झाले जानकारी दिनुभयो । कोरोना संक्रमण समुदाय स्तरमा फैलिए आइसोलेसन कक्षा तत्काल आवश्यक पर्ने भएकोले पनि ५० बेडको आइसोलेसन निर्माण गरिएको झाले बताउनुभयो ।
हिमालय किरण क्याम्पसमा यस अघि बनाइएको १० बेड क्षमताको आइसोलेसन वार्डमा तोडफोड गरिएको थियो । केहि विवादका विच अहिले पनि सोहि क्याम्पसमा आईसोलेसन कक्षको क्षमता विस्तार गरिएको हो । आइसोलेसन कक्षमा तोडफोड हुँदा १४ लाख रुपैयाँ बराबरको क्षति पुगेको खाँदबारी अस्पतालले बताएको थियो ।
तोडफोडमा संलग्न भएको आरोपमा क्याम्पस प्रमुख सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु मध्ये दुई जनामा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको पनि सोहि आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्