सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै

कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं- सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आज साँझ ५ बजे सिंहदरबारमा साझा कार्यक्रम सार्वजनिक गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विशेष गरी आर्थिक मन्दीका कारण उत्पादनलगायतका क्षेत्रमा परेको असर ध्यानमा राख्दै अर्थतन्त्र सवलीकरण गर्ने विषय न्युनतम साझा कार्यक्रममा मुख्य रुपमा समेटिएका छन् ।

आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर न्युनतम साझा कार्यक्रम तयार पारिएको छ ।

यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल सदस्य हुनुहुन्थ्यो ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुअघि यसलाई अन्तिम रुप दिन सत्ता साझेदार दलहरुबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भैरहेको छ । यो बैठकले अनुमोदन गरेपछि सरकारले साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.