प्रकाश सपुतको ‘सकम्बरी’ लाई एक सातामै करोड ‘भ्यूज’

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो ।

‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेर/हेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् ।

कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् ।

गीतको सिर्जना र कला पक्षमाथि तर्क-प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ । युट्युबमा छिटो करोड भ्यूज पाउनेमध्येमा सकम्बरी परेको छ ।

गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गर्नुभएको हो । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिनुभएको छ । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

गायक तथा सर्जक सपुतका यसअघि सार्वजनिक ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’ लगायत गीत सर्वाधिक चर्चित छन् । बागलुङको धम्जामा जन्मनुभएका सपुत चलचित्र ‘परदेशी–२’ मा नायकका रूपमा समेत देखा पर्दै हुनुहुन्छ ।

सो चलचित्र आगामी बडादशैँमा प्रदर्शनमा आउँदैछ । सिर्जनामा सामाजिक विषयवस्तुको उठान गर्ने सपुतले वर्ष २०८० लाई ‘जातीय विभेदविरुद्धको वर्ष’ बनाउने घोषणा यसअघि नै गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.