‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव
तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पधेंराको पानी प्रयोग गर्न बाध्य भएका छन् ।
दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापा मगरले बताउनुभयो । “दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत गर्यो पुनः बिग्रिन्छ,” उहाँले भन्नुभयो, “सोलारमा समस्या आएपछि पर्याप्त पानी आएको छैन ।”
सोलारमा समस्या आउँदा घर–घरमा वितरण गरिएको धाराबाट पर्याप्त पानी आएको छैन । यसका कारण स्थानीयवासी पधेंरामा पुगेर डोकोमा बोकेर पानी ल्याउन बाध्य छन् । उहाँका अनुसार स्थानीयवासी घरदेखि आधा घण्टाको दूरीमा रहेको पधेंराबाट पानी ल्याउन बाध्य छन् ।
“पानी पर्याप्त नआएका कारण बिहानै उठेर पधेंरामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “उक्त पधेंरा धेरै वर्ष पुरानो हो, खानेपानी योजना बन्नुभन्दा पहिला यहाँका स्थानीयले त्यहीँको पानी उपभोग गर्दथे ।”
स्थानीय कमला थापाका अनुसार पानीको अभाव भएपछि बिहानै उठेर पधेंरामा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटेपनि अहिले सोलारमा समस्या आउँदा सास्ती भएको उहाँको गुनासो छ । दगाममा ४१ घरधुरी छ । अहिले सबै घरमा खानेपानी योजनाबाट पर्याप्त पानी आएको छैन ।
“सोलार प्यानलका बारेमा हामीहरुलाई पनि धेरै ज्ञान छैन, बिग्रिएको बेला प्राविधिक आएर बनाइदिन्छन्, केही समयपछि फेरि बिग्रिन्छ,” उहाँले भन्नुभयो ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको कोत्रे बजारदेखि सात किलोमिटर दूरीमा दगाम गाउँ छ । यो गाउँ मह उत्पादनका लागि पनि प्रख्यात छ । यहाँका स्थानीयवासी घरबास सञ्चालनमा समेत लागेका छन् ।
प्रतिक्रिया राख्नुहोस्