दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

नवलपुर- पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर गाँजालगायतका लागुऔषध सेवन गर्ने गरेको बताउनुभयो । “म माछा मार्नका लागि नियमित आउजाउ गर्दा यहाँ साँझको बेलामा मान्छे आएर चुरोट, गाँजा तथा बियर खाएको देख्ने गरेको छु”, उहाँले भन्नुभयो, “बाइकमा आउँछन्, अलिपर बाइक पार्किङ गरेर ग्याबिन भरेको ढुङ्गामाथि बसेर धुँवा उडाउने गरेका छन् ।” आफ्ना गाउँका भन्दा पनि बाहिरी गाउँबाट नचिनेका मान्छे यहाँ आउने गरेको बोटेको भनाइ छ ।

“केही मान्छे नियमित यहाँ देख्ने गरेको छु, एक÷दुई जना व्यक्ति भने लामो समयसम्म यहाँ बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “सायद ती व्यक्तिले लागुपदार्थ ल्याएर अन्य व्यक्तिलाई खुवाउने गरेका होलान् ।” बाहिरबाट आएका व्यक्तिले चुरोट, गाँजा खाएर फालेका ठुटो तथा बियरका बोतलहरू नदी किनारमा छरपस्टै फालिएका छन् । “बाहिरबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिक सामान नदी किनारमा फालिएका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा नदी किनार प्रदूषितसमेत बनेको छ ।”

मध्यविन्दु–३ का वडा सदस्य लोकनाथ अर्यालले पर्यटकीय क्षेत्र भएकाले मान्छे आएर रमाइलो गर्नु सामान्य भएको प्रतिक्रिया दिनुभयो । “यो ठाउँ पर्यटकीय दृष्टिकोणका रूपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा मान्छे आउनु, रमाइलो गर्नु भनेको सामान्य विषय हो ।” नदी किनारमा आउने मान्छेहरू यहाँको रमणीय दृश्य हेर्दै मनोरञ्जनकै लागि आउने गरेको उहाँको भनाइ छ ।

“यहाँ आउनु, रमाउनु त ठीकै हो । तर, पछिल्लो समय किशोरहरू पनि आउने गरेको सुनेको छु”, उहाँले भन्नुभयो, “किशोर दुर्व्यसनीमा फस्नु भनेको राम्रो होइन, यो विषयमा हामीले भर्खरै जानकारी पाएकाले अब कसरी अगाडि बढ्दा ठीक हुन्छ स्थानीयवासीसँग छलफल गरेर अघि बढ्छौँ ।” नदी किनारमा धेरै होटल खुलेको भए पनि मानिस होटलमा भन्दा पनि खुल्ला ठाउँमा बसेर दृश्यावलोकन रमाउने गरेको अर्यालको भनाइ छ ।

स्थानीय लालबहादुर विकले नदी किनार लागुपदार्थको अखडा बन्दै गएको अवस्थामा परिवारसहित त्यहाँ जान पनि अप्ठ्यारो हुने गरेको बताउनुभयो । “हामी सधैँ नगए पनि बिदाको दिनमा छोराछोरी लिएर नदी किनारमा घुम्न जाउँ भनेर गएको अवस्थामा किनारको विभिन्न स्थान धुँवाले भरिएको हुन्छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा बालबालिका लिएर जाँदा उनीहरूमा पनि दुर्व्यसनीको लत बस्ने हो कि भन्ने डर लाग्छ ।” नारायणी नदी किनारमा बसेर सूर्यास्त, नदीमा माछा, नदीपारिको निकुञ्ज, गैँडा, यहाँको हरियाली हेर्नका लागि मान्छे आउने गरेको ठाउँमा गलत काम हुनु राम्रो विषय नभएको उहाँले बताउनुभयो ।

“नचिनेका मान्छेहरु लागुपदार्थको नशामा लठ्ठ भएका हुन्छन्”, उहाँले भन्नुभयो, “कतै गलत काम गर्छन् कि भन्ने चिन्ताले सताउने गरेको छ ।” नदी किनारमा भइरहेको दुव्र्यसनीको अखडा रोक्नका लागि नियमितरूपमा प्रहरीको गस्ती बढाउनुपर्ने उहाँको भनाइ छ । “गाँजा खाएर बस्नेलाई हामी केही गर्न सक्दैनौँ” उहाँले भन्नुभयो, “नियमितरूपमा प्रहरीको गस्ती हुन सुरु भयो भने यस्ता क्रियाकलाप नियन्त्रण हुने थियो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.