बोबाङ पहिरो : सडक पहिरोको कारक
कसरी खस्यो पहिरो ?
बागलुङ- गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ ।
पहिरोमा ढोरपाटन नगरपालिका-९ सुप्राङ बस्ने बिरे विकको परिवार नै बेपत्ता भएको छ । बुधबार साँझ खाना खाएर आफ्नै घरमा सुतेका उनीहरुको घरसहित चार जनाको परिवार कहाँ छ भन्ने बिहीबार साँझसम्म पत्तो नभएको हो । विककी श्रीमती र नाम नखुलेका दुई छोराछोरीसहित चार जना पहिरोले बेपत्ता भएको स्थानीयवासीले बताए ।
पहिरोमा बेपत्ता भएका अधिकांश एकै घरका सदस्य छन् । सोही ठाउँका १० महिनाका नाम नखुलेका एक बालकसमेत बेपत्ता सूचीमा परेका हुन् । बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा चार जनाको मात्र सनाखत भएको छ ।
कसरी खस्यो पहिरो ?
ढोरपाटन जाने सडक वर्षौँअघि खनिएको हो । अहिले यो सडक सालझण्डी ढोरपाटन राष्ट्रिय राजमार्गमा सूचीकृत छ । बर्सातमा हिलाम्मे हुने भएकोले यो सडक सञ्चालनमा छैन । बरु गत असारमा मर्मतको नाउँमा देउरालीमा सडक भत्काइएको स्थानीयवासीले बताए । भत्काएको माटो र सडकमा जमेको पानीले पहिरो चलाएको स्थानीय शिक्षक यामबहादुर कायतले बताउनुभयो ।
सडकको माटोसहित पहिरो खसेर भुजीखोला थुनिएको बताइएको छ । थुनिएपछि बनेको ताल फुटेर पहिरो खस्दा ठूलो क्षति हुनेगरी पहिरो र बाढी चलेको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा के कति मूल्यको क्षति भयो भन्ने खोजी भइसकेको छैन । बेपत्ताको खोजी सकिएपछि मात्र अन्य खोजी हुने बताइएको छ ।
यहाँका अन्य भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । तीन वटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेकोले विद्युत सेवा पूर्ण ठप्प छ । टेलिफोनको सेवा अवरुद्ध छ । ती आयोजना मर्मत गरेर सञ्चालनका लागि महिनौँ समय लाग्ने बताइएको छ ।
खोलाले आफ्नो बहावसमेत फेरेको, खेतीपाती बगाएको र कतिपय पुलमा पनि क्षति पुगेकाले वातावरण सहज बन्नसमेत केही समय लाग्ने कायतको कथन छ । स्थानीयवासीले बिहीबारदेखि नै खानेबस्ने ठाउँ पाएका छैनन् । घरबार गुमाएकालाई तत्कालका लागि स्थानीयवासीले व्यवस्थापन गरेका छन् । नगरपालिका र दाताहरुले तत्कालका लागि खानपानको व्यवस्थापनमा सहयोग गरेका छन् ।
सडक पहिरोको कारक
पछिल्लो समय अधिकांश स्थानमा ग्रामीण सडक पहिरोको कारक बनेका छन् । अन्य घटना पुष्टि नभएसम्मका लागि यो घटना पनि ढोरपाटन सालझण्डी सडकमा बर्सातको समयमा लगाइएको डोजरबाट सिर्जित समस्यासमेत भएको स्थानीयवासीको बुझाइ छ ।
सडक खन्दा नाली नतर्काउने कामले बढी जोखिम सिर्जना गरेको छ । यो सडक राष्ट्रिय आयोजनामा परे पनि डोजर लगाउने मात्रै काम भइरहेको छ । संरचनाहरु समयमा नबन्दा पहिरोको जोखिम बढी भएको उपभोक्ताले बताए ।
दुर्गन्धको खतरा
पहिरोले धेरै बस्तुभाउसमेत बगाएको छ । बगेका गाइबस्तु र पशुपक्षीले दुर्गन्ध र महामारी फैलन सक्नेसमेत चिन्ता बढेको स्थानीय स्वास्थ्यचौकीका प्रमुख दीपक थापाले बताउनुभयो ।
बिरामी र घाइते अवस्थामा आउने बिरामीलाई उपचार र औषधि वितरणमा समेत समस्या परेको भन्दै थापाले पशुपक्षीको दुर्गन्ध बढ्न नदिन पनि समयमै चासो राख्नुपर्ने सुझाव दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्