निर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानुन बनाउन निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं- निर्वाचन आयोगले तीनै तहको निर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानुन बनाउन प्रस्ताव गरेको छ । आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा स्वीकृत गर्दा यस प्रकारको व्यवस्था गर्न सुझाव दिएको हो ।

यसैगरी सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने र विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगले बढीमा दुई पटक मात्र समानुपातिक सांसद हुन पाउने गरी निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अन्तिम रुप दिएको हो । आयोगको हिजो बसेको बैठकले सो विधेयकलाई गृह मन्त्रालयमार्फत संसदमा पेश गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले नयाँ निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा प्रत्यक्षतर्फ पनि कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने प्रावधान राखेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले संसद्‌मा पेस गर्ने निर्णय गरेको विधेयकको मस्यौदामा प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने प्रावधान समावेश गरिएको जानकारी दिनुभयो ।

यस्तै सङ्घीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचन बाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था गरिएको छ ।

मस्यौदामा निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र पेस गर्दा सिलबन्दी गरी आफू र आफ्नो परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण पेस गर्नुपर्ने उल्लेख छ । दलित, महिला, तोकिएको अपाङ्गता भएको व्यक्ति, आर्थिक रूपले विपन्न वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अल्पसङ्ख्यक समुदायको उम्मेदवार भए धरौटी रकममा ५० प्रतिशत छुट दिइने पनि मस्यौदामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.