सिकाइको स्तर सुधार गर्न एक अर्ब २७ करोड अनुदान सहयोग

काठमाडौं- विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न रु एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयमा हिजो आयोजित एक कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो ।

मन्त्रालयका अनुसार सिकाइको स्तर सुधार गर्न तथा उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि कोभिड-१९ संकटबीच उक्त अनुदान दिइएको हो । कोभिड-१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

‘विद्यालय क्षेत्र विकास कार्यकम’ मा विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनको १८५ मिलियन डलर कर्जा सहायतासहित एशियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोवल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, युएसएआइडी, युनिसेफलगायतका निकायले सहयोग पुर्‍याइरहेका छन् ।

‘जिपिइ कोभिड–१९ द्रुत कोष’ अन्तर्गत प्राप्त भएको यस थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड-१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पुर्‍याउनेछ ।

हस्ताक्षर समारोहमा सहसचिव नेपालले अनुदानका लागि हामी विश्व बैंक र जिपिइप्रति आभार व्यक्त गर्नुभयो । उक्त सहयोगले कोभिडका कारण बालबालिकाको सिकाइमा भएको क्षतिको पुर्ति गर्नका लागि टेवा पुर्‍याउने उहाँको भनाइ छ ।

कोभिड-१९ को महाव्याधीका कारण विश्वभर नै शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेका क्षेत्रमध्ये एक भएको र जसले गर्दा बालबालिकाको सिकाएको नजितामा गहिरो असर परेको छ ।

यस्तै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले यस अनुदानले बालबालिकाका लागि खासगरी बालिकाका लागि शिक्षा र सिकाईमा सुरक्षित पहुँचको तत्काल आवश्यकतालाई सघाउने बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.