धनकुटामा संकट व्यवस्थापन केन्द्रको नेतृत्व नै होम क्वारेन्टाइनमा
धनकुटा– धनकुटामा सांसददेखि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका छन्। गएको शनिबार जिल्ला अस्पताल धनकुटालाई १ सय वेडको अस्पताल बनाउन स्थलगत निरीक्षण गर्न धनकुटा आउनुभएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना पुष्टि भएपछि धनकुटाका संसददेखि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका छन्। नेतृत्वकर्ता नै होम क्वारेन्टाइनमा पुगेपछि कोभिड नियन्त्रणमा समस्या हुने देखिएको छ।
सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु होम क्वारेन्टाइनमा रहेपनि कामकाजमा भने कुनै समस्या नरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले बताउनुभयो । उहाँले भेटघाट तथा बैठक नभएपनि प्रविधिको प्रयोग गरेर काम गरिरहेको बताए। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अधिकांश सदस्यहरु होम क्वारेन्टाइनमा रहेपछि गत १७ धनकुटा थप गरिएको निषेधाज्ञा सो समितिका सदस्यहरुसँग टेलिफोनबाट सल्लाह गरि थप गरिएको बिमलीले बताउनुभयो ।
होम क्वारेन्टाइनमा रहनेहरुमा धनकुटाबाट प्रतिनिधित्व गर्ने संसदहरु, जिल्ला समन्वय समितिका जनप्रतिनिधी, धनकुटा नगरपालिकाका जनप्रतिनिधी, विभिन्न कार्यालयका प्रमुखहरु, कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्यहरु, राजनितीक दलका स्थानीय नेताहरु, जिल्ला अस्पतालका डाक्टरहरु र केही पत्रकार गरि २० जना रहेका छन्। उनीहरु मन्त्री सहभागी कार्यक्रममा सहभागी थिए।
गएको शनिबार धनकुटा आएका मन्त्री घिमिरेलाई विराटनगर फर्किए लगत्तै पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उहाँलाई झाडापखाला र ज्वरो आएपछि पिसिआर गरिएको थियो।
यस्तै धनकुटा जिल्लामा हालसम्म ४० जनालाई कोरोना संक्रमण भइसकेको छ। जसमा २० जना उपचारत रहेका छन भने २० जना उपचारपछि घर फर्किसकेका छन्।
प्रतिक्रिया राख्नुहोस्