आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने
ललितपुर- ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।
आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । यसैगरी गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी गराउनुभयो ।
लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छौं ।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराउनुभयो ।
विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्गमती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ ।-






प्रतिक्रिया राख्नुहोस्