निर्माण सम्पन्न भएको दुई सातामै उप्किन थाल्यो कालोपत्रे

पर्सा- निर्माण सम्पन्न भएको १५ दिन नबित्दै वीरगन्जको मिलनचौकदेखि जगरनाथपुर चोकसम्मको सडक विग्रिन थालेको छ । असारको अन्तिम सातामा निर्माण कार्य सम्पन्न भएको उक्त सडक खण्डको दुई किलोमिटर भन्दा बढी भाग १५ दिन नवित्दै विग्रिन थालेको हो ।
असारको २८ र २९ गते निर्माण सम्पन्न भएको कालोपत्रे सडकको गुणस्तर ठिक नभएको कारण कालेपत्रे उप्किन थालेको स्थानिय बताउँछन् । गाईबस्तु तथा हलुका सवारी साधन गुड्दासमेत कालोपत्रे उप्किने गरेको स्थानियको भनाइ रहेको छ ।
सडकको कालोपत्रे उप्किन थालेपछि उक्त सडक खण्डमा दैनिक सवारी दुर्घटना हुने गरेको स्थानियले जानकारी दिएका छन् । मिलनचोकदेखि जगरनाथपुर चोकसम्मको नौ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न सारदा-अमित जेभिले भ्याटसहित ३ करोड ४० लाखमा ठेक्का सकार गरेको थियो ।
असार मसान्तभित्र काम पुरा गर्ने म्याद रहेको उक्त सडक खण्डको डिजाईन मै समस्या भएकाले कालोपत्रे उप्किन थालेको ठेक्दार जितेन्द्र प्रसाद साहले दावी गर्नुभयो । उहाँले सडक कालोपत्रे गर्ने दिन नै वर्षा भएकाले सडक बिग्रिएको बताउनुभयो ।
यसै विषयमा सडक डिभिजन कार्यालय हेटौडाका प्रमुख राजेश कुमार यादवसँग बुझ्दा उहाँले उक्त सडक खण्डको डेढदेखि दुई किलोमिटर सडक बिग्रिएको र बिग्रिएको सडक ठेकेदारले चाँडै बनाईदिने जानकारी दिनुभयो ।
बजेट सिध्याउनैका लागि हतार हतारमा आर्थिक वर्षको अन्तिममा गरिने पूर्वाधार निर्माण गुणस्तरहीन हुने गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएपनि असारे विकासमाथि सरकारले रोक लगाउन नसक्नु दुःखद पक्ष भएको जानकारहरु बताउछन् ।






प्रतिक्रिया राख्नुहोस्