कोरोनामुक्त प्रहरी भन्छन्ः मनोबल उच्च पार्दा सजिलै जितिन्छ कोरोना

काठमाडौँ- प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड-१९ भाइरसबाट सङ्क्रमित हुनुभयो ।
कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा अतिविशिष्ट पाहुनाको आउजाउ, नियमित हुने बैठक-छलफल, अपराध नियन्त्रणका क्रममा हुनुपर्ने दौडधूपका क्रममा उहाँ पनि सङ्क्रमित हुन पुग्नुभयो ।
“शुरुमा कार्यालयका केही प्रहरीलाई ज्वरो आयो, उनीहरुको स्वाब परीक्षण गराउँदा कोभिड-१९ देखियो, साउन ७ मा मैले पनि स्वाब परीक्षण गराएँ, मेरो पनि पोजेटिभ रिपोर्ट आयो”,कँडेलले सुनाउनुभयो, “त्योबेला कार्यालयका मात्रै ३८ जना सङ्क्रमित भेटिए ।” होम आइसोलेशनमा बसेर उच्च मनोबलका साथ कोरोनालाई पराजित गर्नुभएका उहाँले बेसार पानी र जडीबुटीलाई प्राथमिकता दिएको अनुभव सुनाउनुभयो ।
“आयूर्वेद चिकित्सकको सल्लाहमा जडीबुटी तथा आयुर्वेदिक औषधि खाएँ, बोझो, गुर्जो उमालेर र तातो खानेकुरा खाएँ, शरीरलाई तातो राख्न नियमित व्यायाम पनि गरेँ”, कँडेलले अनुभव सुनाउँदै भन्नुभयो, “आवश्यक सावधानी र उच्च मनोबल बनाउँदा सजिलै जितिने रहेछ ।”
शरीरमा लक्षण देखिएन, तर समाजले लगाएको लाञ्छनाले भने उहाँको मनमा नमीठो चोट पर्यो । सङ्क्रमण नभएका प्रहरीलाई सामान दिन हिचकिचाउने, कुनै चिज लिन जाँदा पसल नै बन्द गर्ने अवस्था देखिए । त्यसबाट प्रहरी कर्मचारी हतोत्साही भएनन् । सामाजिक दूरी कायम गर्न सके र मास्क नियमित लगाएमा सर्ने सम्भावना अत्यन्तै कम हुन्छ भन्ने कुरा समाजमा चेतना नपुगेको सङ्क्रमित प्रहरीले अनुभव गरेका छन् ।
कोभिड–१९ को महामारीका क्रममा अग्रपङ्क्तिमा रहेर जनताको स्वास्थ्यसँगै मुलुककको शान्ति-सुरक्षामा खटिनेमध्ये कँडेलजस्तै धेरै प्रहरी छन् । कोरोना भाइरसको महामारीकाबीच प्रहरी सक्रिय छन् । सङ्कट व्यवस्थापनसँगै सडक र शहर सुरक्षा, विपद् उद्धार र दैनिक कार्यमा पर्ने अन्य शान्ति सुरक्षाका कममा प्रहरी व्यस्त छन् । आर्कतर्फ यसरी सरकारको आदेश पालनामा अहोरात्र खटिँदा सङ्क्रमित हुने क्रम बढ्दो छ ।
कर्तव्यपालनाकै क्रममा थाहै नपाइ कोरोना सङ्क्रमित हुनुपर्दाको मानसिक पीडा उनीलाई अरु मानिसलाई झैँ नहुने कुरै भएन । तर सङ्क्रमणमा परे पनि फेरि राष्ट्रसेवामा फर्कने दरिलो आँटसहित आइसोलेशन कक्षमा आम मानिस झैँ बसे । अनि उच्च मनोबलका साथ कोरोना भाइरसलाई जितेर धमाधम कार्यस्थलमा फर्कदैछन् ।
समाजसेवामा सक्रिय रहेको गुण बिर्सेर सङ्क्रमित बन्दा केहीले सामाजिक दुव्र्यवहारको पीडाको अनुभव भने सङ्गालेका छन् । प्रहरीको शरीरिक स्फूर्ती, आत्मबल र सचेत मनस्थितिका अघि कोरोना भाइरस कमजोर नै बन्यो ।
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनालाई परास्त गर्न राज्यले तय गरेको रणनीति मुताविक उनीहरु सङ्क्रमणमुक्त भएपछि त्यसविरुद्धको मोर्चालाई अझै सशक्त पार्न कस्सिएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी बरिष्ठ उपरीक्षक कुबेर कडायत कोभिड–१९ बाट नागरिकलाई जोगाउने राष्ट्रिय सङ्कल्पप्रति सङ्क्रमणमुक्त कर्मचारीमा देखिएको लगाव र समर्पण भावले अन्य प्रहरीलाई हौसला मिलेको बताउनुहुन्छ ।
सरकारको निर्णय र निर्देशनअनुसार सबै गतिविधिको अग्रपङ्क्तिमा खटिएका नेपाल प्रहरी सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमित हुन बाट जोगिएनन् । प्रहरीमाथि
राज्यको शान्तिसुरक्षा कायम गर्ने महत्वपूर्ण दायित्व छ ।
समाजका हरेक गतिविधिमा प्रहरीले अग्रमोर्चा सम्हालिरहेको हुन्छ । विगतमा क्वारेन्टिनबाट भागेका व्यक्ति नियन्त्रण लिन, अपराध नियन्त्रण, आन्दोलन वा आपतकालीन अवस्थालगायत जुनसुकै समयमा पनि प्रहरी आफ्नो भूमिकाबाट पछि हट्न पाउँदैन । त्यस्तो जटिल परिस्थितिमा सामाजिक दूरी कायम गर्न सकिँदैन ।
कोरोनाकालमा देशका धेरै जिल्लामा पटकपटक आन्दोलन भयो । बाढी-पहिरामा परेकाको उद्धारमा प्रहरीले चाहेर पनि मापदण्ड प्रयोग गर्न सकेन । केही दिनअघि ललितपुरमा रातो मित्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा प्रहरीले कुटाई नै खानुपरेको थियो । यस्तैयस्तै घटनाका कारण प्रहरी कोरोनाबाट जोगिन सकेन ।
कोभिड–१९ सङ्क्रमण रोकथामकै लागि नेपाल प्रहरीले बनाएको केन्द्रीय हेल्थ डेस्कका स्रोतव्यक्ति प्रहरी उपरीक्षक वसन्त रजौरे पनि कोरोनालाई परास्त गरेर कार्यक्षेत्रमा खटिसक्नु भयो । साउन २६ देखि भदौ ४ सम्म उहाँले कोरोनाको सामना गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई सङ्क्रमणको कुनै महसुस भएन, मनोबल गिराउनुहुन्न ठीक हुन्छ ।” कोरोना लागेपछि सखापै भयो भन्ने जस्तो प्रचार भएकोमा उहाँ दुःखी हुनुहुन्छ ।
चिकित्सकले कोरोना लाग्दा सावधानी अपनाउँदा, उच्च मनोबल पार्दा र रोग प्रतिरोधात्मक क्षमता बढाउने घरेलु उपाय अपनाउँदा जोखिम कम हुने बताउँदै आएका छन् । प्रहरी उपरीक्षक रजौरेले पनि त्यही प्रक्रिया अपनाउनुभयो । “कोरोना जसलाई पनि लाग्न सक्छ, सावधानी अपनाउने हो, लागिहाले पनि डराउनुहुन्न, सजिलै जित्न सकिन्छ”, उहाँले सुझावसहितको अनुभव साट्नुभयो ।-






प्रतिक्रिया राख्नुहोस्