एक सातादेखि स्थगित प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं- सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले लगातार संसद अबरुध्द गर्दै आएपछि एक साताका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद बैठक बस्न सकेको छैन ।

आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, विषयगत समितिमा हेरफेर, प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी दिने कार्यसूची रहेको छ ।

यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची पनि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि संसदको अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ । संसद् अवरोध खुलाउन सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.