अभिनेता सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत सार्वजनिक

काठमाडौँ- दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ ।

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारको अन्तिम इच्छा नै चलचित्र रिलिज गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, उहाँको अन्तिम कामलाई साङ्गीतिक श्रव्यदृश्यकै माध्यमले भए पनि बाहिर ल्याएका छौँ ।”

गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गर्नुभएको छ । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले जानकारी दिनुभयो ।

“हामीले बर्दियामा अभिनेता ताम्राकारको दृश्यलाई खिचेका थियौँ । काठमाडौँको सेड्युलमा उहाँको अलि पछाडि थियो । त्यही क्रममा दुःखद घटना घट्यो”, निर्देशक गुरुङले भन्नुभयो, “यो हाम्रो निर्माण समूहको तर्फबाट अभिनेता ताम्राकारलाई श्रद्धाञ्जलि हो । उहाँको काम सबैले हेर्न पाउनुहोस् भन्ने लगेर सार्वजनिक गरेका हौँ ।”

कार्यक्रममा अभिनेता ताम्राकारकी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो । आमा ताम्राकारले आफ्नो छोराको अन्तिम कामलाई दर्शकसम्म पुर्‍याउनु हुने निर्माण समूहलाई धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, “उसले यो चलचित्रको लागि निकै समय खर्चिएको थियो । यसमा आफ्नो पात्रलाई लिएर उ निकै मेहनती थियो । यसलाई ठूलो पर्दामा हेर्ने रहर हुँदै गर्दा पनि आज यहाँ हेर्नु पर्‍यो ।”

उहाँले आफ्ना पति सानु ताम्राकार यही वियोगका कारण बिरामी भएर अस्पतालमा रहनुभएको जानकारी दिँदै छोरा ताम्राकारको अनुसन्धानमा खटिएका प्रहरीलाई सत्यतथ्य छिट्टै सार्वजनिक गर्न पनि आग्रह गर्नुभयो ।

कलाकार सङ्घका अध्यक्ष निरौलाले पनि ‘सारुकले न्याय पाउनुपर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुआत गर्नुभयो । “हामी कसैलाई दोष दिन चाहदैनौँ तर कलाकारसँग जोडिएको र बाहिर विभिन्न किसिमका अड्कलबाजीका खबरहरू आइरहेका छन् । त्यसैले गर्दा यस प्रकरणमा छिट्टै सत्यतथ्य बाहिर आउनुपर्छ भन्ने हाम्रो भनाइ छ”, अध्यक्ष निरौलाले भन्नुभयो ।

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिनुभएकी अभिनेत्री सृष्टि श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्नुभयो । “उसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समूहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग बिदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग छ । हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ”, अभिनेत्री श्रेष्ठले भन्नुभयो ।

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाउनुभएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरिसक्नुभएको थियो । अभिनेता ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.