नेपालको गिर्दो अन्तर्राष्ट्रिय छवि दलहरूले चिर्न सक्नुपर्छ : नेता डा कोइराला

धनुषा- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपालको गिर्दो अन्तर्राष्ट्रिय छविलाई दलहरूले चिर्न सक्नुपर्ने बताउनुभएको छ ।

पार्टी कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका नेता डा कोइरालाले पत्रकारहरूसँग कुराकानी गर्दै काण्डैकाण्डले नेपाल भ्रष्टाचारको अखडाका रूपमा विकास भइरहेको गलत सन्देश गएकाले दलहरूले गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

सुनकाण्डले तस्करहरू र नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल भ्रष्टाचारको अखडाका रूपमा विकास हुँदै गरेको प्रष्ट सङ्केत गरेको उहाँको भनाइ थियो ।

“सुनकाण्डका घटना पटकपटक भएका छन् । त्यसमा राजनीतिकर्मी, कर्मचारी, भन्सार विभाग, अध्यागमनलगायत विविध पक्ष जोडिएका विषय आउँछन् । म त भन्छु यिनीहरूले मात्रै गलत काम गरिरहेका छैनन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय तस्करहरूको पनि त्यसमा संलग्नता छ ।

छिमेकी भारतीय बजारमा सुनको उपलब्धता, चिनियाँ नागरिकहरूसँग दुई तीन देशका नागरिकता रहेकालगायत विषयले पनि त्यसलाई सङ्केत गर्छ, जुनकुरा खोजीको विषय हुनसक्छ”, डा कोइरालाले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनकाण्ड, ललिता निवासको जग्गा अपचलन प्रकरण, नक्कली भुटानी शरणार्थी, यति, ओम्नी, गिरीबन्धु टी स्टेट, गौर हत्याकाण्डलगायतका फाइल खोल्ने कुरा गरिरहेकाले सोहीअनुसार गम्भीरतापूर्वक छानबिन हुनुपर्ने बताउनुभयो । सुनकाण्डको छानबिनका लागि दलहरूबीच भएको सहमतिअनुसार गठन हुने आयोगले नेपालको गिर्दो छविलाई उठाउने गरी काम गर्न सक्नुपर्नेमा कोइरालाले जोड्दिनुभयो ।

“अहिले भइरहेको सुन तस्करी र काण्डबारे एउटा आयोग गठनको विषयमा सहमति भइसकेको छ । त्यो आयोगले घटनामा संलग्न पक्ष र परिवेशबारे ठीक ढङ्गले छानबिन गर्न सकेन भने हाम्रो साख थप गिरेर जानेछ”, डा कोइरालाले अगाडि भन्नुभयो, “यसकारण अहिलेका सबै विषयमा अध्ययन गरी आयोगले चुरो कुरामा पुगेर समस्या समाधान गर्न सक्नुपर्छ । त्यसका लागि नेपाली कांग्रेसलगायत दलले सहजीकरण गर्नुपर्छ ।”

सरकारले गरिरहेका काम कारबाहीबारे गलत मूल्याङ्कन गर्ने बेला भइनसकेको भन्दै उहाँले नेपाली कांग्रेस सरकारको पक्षमा दृढतापूर्वक उभिएकाले सरकारको आयुका विषयमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.