विषयगत समितिको सभापति निर्वाचनः आज उम्मेदवारी प्रस्ताव दर्ता, भोलि निर्वाचन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि आज उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

सभापतिका लागि दर्ता प्रस्तावहरू भोलि सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् । प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित आज बिहान ११ देखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ ।

यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची आजै बेलुका ४ बजे प्रकाशन गरिनेछ । यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ ।

दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले भोलि प्रस्तुत गर्नुहुनेछ । समर्थकले प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ ।

प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आजसम्ममा सभामुखलाई दिइसक्नुपर्नेछ ।

समिति सभापतिका लागि एकमात्र प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ ।

प्रस्तावको सूचना एकभन्दा बढी भएमा दर्ताक्रमअनुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.