प्रहरी चौकी कटुञ्जेबेंसीको भवन उद्घाटन
काभ्रे- काभ्रे जिल्लाको रोशी गाउँपालिका–७ स्थित कटुञ्जेबेंसी प्रहरी चौकीले नयाँ भवन पाएको छ । बुधबार एक कार्यक्रमबीच वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले नवनिर्मित भवन उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक राणाले भवन र सुविधा सम्पन्न साधन श्रोत नहुँदा त गुणस्तरीय सेवा उपलब्ध गराएको नेपाल प्रहरीले भवन र साधन श्रोत पर्याप्त उपलब्ध हुँदा सेवाको गुणस्तरमा छलाङ मार्नु पर्ने बताउदै अपराध न्यूनीकरण, दुर्घटना न्यूनीकरण तथा सचेतना र सचेत करणका कार्यक्रम निरन्तर जारी राख्न निर्देशन दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख एसएसपी किसन सिंह थापा, एसपी ईश्वर थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, रोशी गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष अशोककुमार गौतम लगायतले प्रहरी कार्यालयको भवनबाट गुणस्तरीय सेवा प्रभाव गर्न सहज भएको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले काभ्रेमा कटुञ्जे पछि कानपुर र बनेपाको साँगामा रहेको प्रहरी चौकी निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय वाग्मती प्रदेश सरकारले विनियोजन गरेको उक्त भवन निर्माणका लागि विभिन्न चरणमा गरेर २ करोड २७ लाख रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा प्रहरी चौकी निर्माणका लागि जग्गादान गर्ने जग्गादाता मानकुमारी गौतम र शिवनारायण श्रेष्ठ तथा निर्माण व्यवसायी राहुल कन्स्ट्रक्सन राहुल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
२ रोपनी ११ आना क्षेत्रफलमा बनेको साढे २ तल्लाको उक्त प्रहरी चौकी भवन निर्माणका लागि गौतमले १ रोपनी ६ आना १ पैसा १ दाम र श्रेष्ठले १ रोपनी ४ आना ३ दाम १ पैसा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
प्रतिक्रिया राख्नुहोस्