गुल्मीमा बिचित्र गुफा नजिकै लामो झोलुङ्गे पुल निर्माण

गुल्मी- गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको पर्यटकीय स्थल बिचित्र गुफा पुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण भएको छ । गाउँपालिकाको वडानम्बर ५ वस्तुमा रहेको बिचित्र गुफा र धुर्कोट परमानन्द बहुमुखी क्याम्पसमा पुग्ने विद्यार्थीहरुका सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएको हो ।

राङदाल चौर र बिचित्र गुफा क्षेत्र जोड्ने गरि छल्दीखोला माथी झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणपछि बिचित्र गुफा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक बढने अपेक्षा गरिएको छ ।

त्यस्तै इस्मा गाउँपालिकाको वडानम्बर ६ बाट वस्तुमा पढ्न जाने विद्यार्थीहरुलाई पनि सहज हुने भएको छ । वर्षातको समयमा छल्दी खोला तर्न समस्या हुने भएकाले पनि उक्त झोलुङ्गे पुल निर्माण गरिएको धुर्कोट गाउँपालिका वडानम्बर ५ का वडाअध्यक्ष केशव भण्डारीले बताउनुभयो ।

लामो तथा अग्लो स्थानमा निर्माण गरिएको उक्त झोलुङ्गे पुलले बिचित्र गुफा पुग्न बाटो समेत छोटो बनाइदिएको छ । पुल निर्माण भएपछि त्यस स्थानमा घुम्न र फोटो खिचाउन जान थालेका छन् ।

नेपाल सरकार शहरी विकास मन्त्रालयको १ करोड ८९ लाखको लागतमा पुल निर्माण भएको वडाअध्यक्ष भण्डारीले बताउनुभयो । पुल निलगिरी निर्माण सेवा प्रालिले निर्माण गरेको हो । ३ सय ७० मिटर लम्बाई रहेको पुलमा एकपटकमा ७ सय ९९ जना पदयात्री आउ–जाउ गर्न मिल्ने गरि निर्माण भएको छ ।

झोलुङ्गे पुल निर्माण गरिएको स्थान नजिकै विचित्र गुफा रहेको छ । पर्यटनको हिसाबले निकै महत्वपूर्ण रहेको गुफाले समग्र जिल्लाकै पहिचान बोकेको छ । तर आवश्यक आर्थिक ब्यवस्थापन नहुँदा गुफाको पहिचान ओझेलमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.